कांग्रेस संसदीय दलको चुनाव आज : देउवाको पक्षमा ५६, गगनसँग ३३ सांसद

by समतल अनलाइन

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको चुनाव आज (बुधबार) हुँदैछ । दलको नेता बन्नका लागि कांग्रेस सभापति शेरबहादुर देउवासँग ३२ बर्ष कान्छा महामन्त्री गगनकुमार थापा भिड्दै छन् । सहमहामन्त्री भिष्मराज आङदेम्बे नेतृत्वको निर्वाचन समितिले दलको नेता छान्न आज (बुधबार) बिहान ८ देखि १० बजेसम्म मतदान हुनेछ ।

कांग्रेसको निर्वाचन समितिले मंगलबार साँझ उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ । दलको चुनावअघि देउवाको पक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइराला र विमलेन्द्र निधिले साथ दिने बताइसकेका छन्। पौडेल त देउवाको उम्मेदवारीमा प्रस्तावकमा बसेका छन् ।

यस्तै महामन्त्री थापाको पक्षमा नेता डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र काठमाडौं–५ बाट विजयी प्रदीप पौडेलसहित उभिएका छन् ।

अहिलेसम्मको अवस्थामा देउवाको पक्षमा ५६ र थापाको पक्षमा ३३ जना सांसद उभिने देखिएको छ । तर, यो संख्यामा निर्वाचनको दिन तलमाथि हुनसक्छ । कांग्रेसका ८९ सांसदमध्ये मनाङबाट निर्वाचित टेकबहादुर गुरुङले भोट हाल्न पाउँदैनन् । अदालतमा मुद्दा विचाराधीन रहेकाले संस्थापन पक्षका उनी मतदानमा सहभागी हुने छैनन् ।

कांग्रेस दलको नेता चयनलगत्तै नयाँ सरकार गठन र शक्ति बाँडफाँडको राजनीतिक अध्याय पनि सुरु हुनेछ । अहिलेको राष्ट्रिय राजनीति र कांग्रेसको आन्तरिक जीवनमा समन्वयकारी भूमिका खेल्न सक्ने भएकाले दलको नेता देउवा बन्नुपर्ने संस्थापन पक्षको तर्क छ । कांग्रेसमा पुस्तान्तरण र रूपान्तरणको समय आएकाले थापा दलको नेता बन्नुपर्ने इतर समूहको भनाइ छ ।

 

 
 
  
 

You may also like