अवैध संरचना हटाउँदै चन्द्रकोट

by समतल अनलाइन

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकाले सडक छेउछाउका टहरा तथा संरचना भत्काउने भएको छ । गाउँपालिकाले ३५ दिने सूचना निकाल्दै सडकको छ–छ मिटर दायाँ बायाँ रहेका टहरा तथा संरचना हटाउन आग्रह गरेको छ ।

गत मंसिर २२ गते भएको कार्यपालिकाको निर्णय बमोजिम गाउँपालिकाको केन्द्र शान्तिपुर र अर्को मजुवा बजारको सडक छेउछाउका संरचना हटाउन लागिएको गाउँपालिकाका प्रवक्ता घनश्याम खरेलले जानकारी दिए । ‘कार्यपालिकाले सर्वसम्मत गरेको निर्णय हो’, उनी भन्छन्, ‘चन्द्रकोट गाउँपालिका निर्णय कार्यान्वयनमा प्रतिबद्ध छ ।’

गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४५ बमोजिम सम्बन्धित ब्यक्ति, संस्था र निकायलाई सडक छेउछाउका टहरा र संरचना हटाउन अनुरोध गरेको हो । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाशचन्द्र शर्माले तोकिएको समयभित्र संरचना नहटाएमा दफा ४५ को उपदफा ४ बमोजिम गाउँपालिकाले आफै हटाउने बताए । हटाउन वा भत्काउन लाग्ने खर्च सम्बन्धित व्यक्ति, संस्था र निकायबाट असुरउपर गरिने गाउँपालिकाले जनाएको छ ।

 
 
  
 

You may also like