आयोगले भन्यो-समानुपातिकमा सिफारिस सांसदको नाम समावेशी समूह बमोजिम सच्याउनू

by समतल अनलाइन

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ स्थान प्राप्त गर्ने राजनीतिक दलहरूबाट बन्दसूचीमा रहेका उम्मेदवारबाट सिफारिस भएका सांसदहरूको नामावलीलाई समावेशी समूहबमोजिम सच्याएर पठाउन दुई दिनको समयसहित आज पत्राचार गरेको छ ।

दलहरूले यही मंसिर २६ गते सोमबार साँझ ४ बजेसम्म सच्याइएको सूची बुझाउनु पर्ने जनाइएको छ । प्रतिनिधिसभातर्फको नाम सिफारिस गर्न यही मंसिर २४ गते ४ बजेसम्म समय दिइएकामा दलहरूले नमावली सिफारिस गरेका थिए ।

पेस भएकामध्ये कतिपय दलले समावेशी समूहबाट उपयुक्त प्रतिनिधित्व नगराएको, कतिपय दलले प्राप्त स्थानभन्दा बढी स्थानमा सिफारिस गरेको पाइएको छ । नामावली सच्चिएर प्रतिनिधित्व भई आएपछि आयोगले निर्वाचित भएको घोषणा गर्ने उक्त प्रणालीतर्फका प्रवक्ता गुरूप्रसाद वाग्लेले जानकारी दिए ।

यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ मतगणना सकिएपछि आयोगले यही मङ्सिर २२ गते थ्रेसहोल्ड कटाउने दलहरूलाई बन्दसूचीमा समावेश समावेशी समूह मिलाएर नाम पठाउन पत्राचार गरेको थियो ।
भोलिदेखि निर्वाचन आचारसंहिता नरहने
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता मंसिर २६ गते (भोलि) देखि लागू नरहने निर्णय गरेको छ । आयोगले आज (आइतबार) जनाएअनुसार प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन केन्द्रित रहेर गत असोज १२ गतेदेखि लागू भएको आचारसंहिता मंसिर २६ देखि अन्त्य हुने भएको हो ।

उक्त निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको पनि आयोगले जनाएको छ ।

 

 
 
  
 

You may also like