गुल्मीको चन्द्रकोटमा ३१ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो

by समतल अनलाइन

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकामा ३१ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर शनिबार शान्तिपुरमा अपाङ्गता भएका ब्यक्तिहरुको सवाल बिषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

अन्तरक्रिया कार्यक्रम तथा अपाङ्गता परिचयपत्र वितरण कार्यक्रममा गाउँपालिका स्तरीय अपाङ्गता समन्वय समितिका संयोजक गाउँपालिका उपाध्यक्ष बिष्णुप्रसाद भण्डारीको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष युवराज केसीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष केसीले अपाङ्गता हुनु कसैको दोष नभई शारिरीक तथा मानसिक रुपको फरकपन भएको बताउनुभयो । उहाँले अपाङ्गता भएका ब्यक्तिको सहज पहुँचका लागि गाउँपालिकाले काम गर्ने र सधैं अपाङ्गताको पक्षमा गाउँपालिका रहेको बताउनुभयो । गाउँपालिकाले आगामी नीति तथा कार्यक्रममा अपाङ्गता भएका ब्यक्तिको अधिकारलाई प्राथमिकता दिएर अगाडि बढ्ने पनि गाउँपालिका अध्यक्ष युवराज केसीले बताउनुभयो । अपाङ्गता भएका ब्यक्तिहरुको पक्षमा आवश्यक कान्ुनको कमी रहेकोले त्यसतर्फ सबैको ध्यान जानुपर्ने र बहस पैरवी हुनुपर्ने पनि अध्यक्ष केसीको भनाई थियो ।

गाउँपालिकाका उपाध्यक्ष बिष्णु प्रसाद भण्डारीले अपाङ्गता भएका ब्यक्तिहरुलाई माया र सम्मान गर्दै उनीहरुको क्षमताको कदर गर्नुपर्ने बताउनुभयो । उहाँले गाउँपालिकाले अपाङ्गता भएका ब्यक्तिको पक्षमा प्रोफाइल तयार गरेर थप काम गर्ने पनि बताउनुभयो । यस्तै फरक क्षमता भएका ब्यक्तिहरुको लागी उपयोगी सिप सिकाई जिवनयापनलाई सजिलो बनाउने पनि उल्लेख गर्नुभयो

कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद भुसालले अपाङ्गताको प्रकार हेरेर परिचयपत्र बितरण गर्ने र अपाङ्गताको क्षेत्रमा नीति निर्माणमा पनि पहुँच पु¥याउनु पर्नेमा आफूहरु लागेको बताउनुभयो । उहाँले फरक क्षमता भएका ब्यक्तिलाई समाजले सकारात्मक हेर्नुपर्ने पनि बताउनुभयो ।

कार्यक्रममा चक्रेश्वर अपाङ्ग सेवा समाजका उपाध्यक्ष बिजय बस्नेतले अपाङ्गता दिवस र आजको आवश्यकता सम्बन्धि सबै जानकार हुनुपर्ने बताउनुभयो । उहाँले यस बिषयको कार्यपत्र पनि प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा राजनीतिक दलको तर्फबाट नेकपा एमाले चन्द्रकोट गाउँकमिटीका अध्यक्ष धातानन्द शर्मा, नेपाली काँग्रेस चन्द्रकोट गाउँसमितिका उपाध्यक्ष जागेश्वर शर्मा र नेकपा माओवादी केन्द्रका गाउँकमिटी सचिव गोकर्ण प्रसाद शर्मा लगायतले शुभकामना मन्त्ब्य राख्दै उनीहरुले अपाङ्गता भएका ब्यक्तिको सवालमा सबै एकजुट हुनुपर्ने धारणा राखेका थिए ।

सोही कार्यक्रममा डाक्टर रबि माली र बालकृष्ण चौधरीको चेकजाँच मार्फत ३५ जनाले अपाङ्गता परिचयपत्र प्राप्त गरेका छन् । कार्यक्रमको सञ्चालन प्रशासन प्रमुख शिवप्रसाद ज्ञवालीले गर्नुभएको थियो । कार्यक्रममा सरोकारवालाहरुको सहभागीता रहको थियो ।

 
 
  
 

You may also like