झापा–५ बाट एमाले अध्यक्ष ओली दोब्बर मतले विजयी

by समतल अनलाइन

झापा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा भारी मतान्तरसहित निर्वाचित भएका छन् । उनी गठबन्धनअन्तर्गत कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई २८ हजार ५७४ मतान्तरले पराजित गर्दै संसदीय निर्वाचनमा छैटौं पटक निर्वाचित भएका हुन् ।

आज (बुधबार) सकिएको मत गणनामा ओलीले ५२ हजार ३१५ मत पाए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका अधिकारीले २३ हजार ७४१ मत मात्र पाएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले २०७४ को निर्वाचनमा पनि अधिकारीलाई नै पराजित गरी प्रतिनिधिसभामा निर्वाचित भएका थिए । झापामा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संग चुनावी तालमेल गरेको थियो ।

ओली २०६४ को पहिलो संविधानसभा चुनाव बाहेक २०४८ यताका सबै चुनावमा झापाबाट निर्वाचित हुँदै आएका छन् । उनी ०४८, ०५१ र ०५६ को संसदीय निर्वाचनमा झापा क्षेत्र नं. ६ बाट निर्वाचित भएका थिए । ओली ०५६ मै झापा २ बाट समेत निर्वाचित भएका थिए ।

ओली ०६४ को संविधानसभा निर्वाचनमा झापा क्षेत्र नं. ७ बाट पराजित भएका थिए । उक्त निर्वाचनमा माओवादीका विश्वदीप लिङ्देन निर्वाचित भएका थिए । ०७० मा संविधानसभाको दोस्रो निर्वाचनमा ओली झापा क्षेत्र नं. ७ बाट निर्वाचित भएका थिए । राज्य पुर्नसंरचनापछि साविकको ६ र ७ नम्बर हाल झापा ५ भएको छ । झापा ५ बाट ०७४ उनी सर्वाधिक मतसहित निर्वाचित भएका थिए । १ लाख ५४ हजार दुई सय ८९ मतदाता रहेको यो क्षेत्रमा १ लाख २ हजार १ सय ५० मत खसेको थियो ।

 
 
  
 

You may also like