समृद्ध रुपन्देही गृहमन्त्री खाँणको संकल्प

by समतल अनलाइन

भैरहवा।रुपन्देही–३, का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा गृहमन्त्री बालकृष्ण खाँणले सिमावर्ती सहर भैरहवालाई मुलुकमै नमूना बनाएर अन्तर्राष्ट्रिय पहिचान दिलाउने बताएका छन् । त्यसका लागि भैरहवाको गहनाका रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गरिने बताएका हुन् । ‘स्थापनाको खाका तयार पार्दादेखि विमानस्थल निर्माण गर्न कांगे्रस नेताको भूमिका छ,’ खाँणले भने, ‘अहिले अन्तर्राष्ट्रिय उडान सुरु भएका छन् । अव विमानस्थलका बाँकी काम पूरा गरेर पूर्ण क्षमतामा सञ्चालन गरिने छ ।’

विमानस्थललाई पूर्णता दिन आफूले काम थालिसकेको उनले बताए । ‘सुरुमा जजिरा एयरलायन्सले मात्रै उडान भरिरहेको थियो,’ उनले भने, ‘एउटा उडानले विमानस्थल चल्दैन भनेर सरकारले अन्य विमान कम्पनीलाई भैरहवाबाट उडान गराउन लगाएको छ । यसले निरन्तरता पाउँछ ।’ खाँणको पहलमा गौतम बुद्ध विमानस्थलबाट अहिले हिमालय एयरलाइन्सले चार्टर्ड उडान सुरु गरेको छ । हिमालयले विभिन्न मुलुकका लागि यहाँबाट दैनिक उडान गर्न थालेपछि यात्रुलाई सहज भएको छ । दुई दिन अघि नेपाल एयरलाइन्सले समेत परीक्षण उडान गरेको छ ।

केही दिनमा नेपाल एयरसाइन्सले नियमित उडान भर्ने जनाएको छ । ‘उडानको संख्यासँगै निर्वाचनपछि विमानस्थलका बाँकी काम अगाडि बढाइनेछ,’ खाँणले भने, ‘अत्याधुनिक नयाँ टर्मिनल निर्माण सुरु हुनेछ ।’ उडान सँख्या बृद्धिसँगैं विमानस्थलमा रोजगारी सिर्जना हुने भएकाले त्यसमा स्थानीयलाई प्रथामिकता दिने बताएका छन् । ‘विमानस्थल निर्माणका क्रममा धेरै स्थानीयको जग्गा अधिग्रहण गरिएको छ,’ गृहमन्त्री खाँणले भने, ‘जग्गा गुमाएका स्थानीयले विमानस्थलमा काम पाउनु हुनेछ । त्यसको सुरुवात भइसकेको छ ।’

०७४ सालमा समानुपातिकबाट सांसद निर्वाचित भएका खाँणले पाँच वर्ष रुपन्देही–३, अन्तर्गत आफ्नो निर्वाचन क्षेत्रमा बिताएका थिए । पाँच वर्ष स्थानीयका आवश्यकता पूर्ति र बिकास निर्माणका खटिएको उनले बताए । ‘अहिले धेरै स्थानीयले विमानस्थला रोजगारी गरिरहनु भएको छ,’ उनले भने, ‘आगामी दिनमा विमानस्थलमा सेवा थपिँदैं जान्छन । रोजगारी पनि बढ्दै जान्छ ।’

अन्तराष्ट्रिय विमानस्थल सञ्चालनपछि लुम्बिनी प्रदेशकै पर्यटनले फड्को मार्ने भएकाले रुपन्देहीमा रहेको बेलहिया नाकालाई व्यवस्थित गरिने खाँणले बताएका छन् । भैरहवामा पर्यटन व्यवसायीद्वारा आयोजित कार्यक्रममा नाकालाई आधुनिक र सुरक्षित तुल्याइने बताएका हुन् । एक महिना अघि पर्यटन दिवसमा नाकामा आयोजित कार्यक्रममै उनले नाका व्यवस्थापनका काम गर्न प्रशासन र स्थानीय सरकारलाई निर्देशन दिएका थिए । त्यसपछि नाकामा रहेको अतिक्रमण हटाइनुका साथै सुरक्षाकर्मी बढाइएको थियो ।

‘नाकाबाट ओहोर दोहोर गर्नेबाट कुनै गुनासो आउनु हुँदैन,’ उनले भने, ‘मुुलुक आउनेलाई हाम्रो संस्कार अनुसारको स्वागत गर्न र फर्किनेलाई त्यसै अनुसार बिदाई गर्न म सरोकारवासित अनुरोध गर्दछु ।’ स्थल र हवाई नाका जिल्लामा हुनु यहाँका नागरिकका लागि ठूलो अवसर भएकाले फाइदा उठाउन आग्रह गरे । ‘यी नाका व्यवस्थापनमा सरकारले कुनै कसर बाँकी राख्दैन,’ उनले भने । लुम्बिनी प्रदेशको पर्यटनको केन्द्र गौतमबुद्धको जन्मस्थल लुम्बिनी यहीँ भएकाले आसपासका बुद्ध र पर्यटकीय स्थल जोडेर बिकास गरिने उनले बताए । ‘भैरहवा अहिले पर्यटकीय केन्द्र बनेको छ,’ उनले भने, ‘यसलाई अझै व्यवस्थित गरेर मुलुकमै नमुना पर्यटकीय सहर निर्माण गर्न लागेका छौं ।’

गृहमन्त्री खाँणले रुपन्देही तरकारी उत्पादनमा अग्रणी जिल्ला भएकाले भैरहवा क्षेत्रमा व्यवस्थित र आधुनिक सुविधा रहेको कृषि हाट बजारको निर्माण गर्ने जनाएका छन् । भैरहवाको लुम्बिनी गेट नजिकै रहेको कान्छी बजार सांघुरो र व्यवस्थित नभएकाले ठूलो क्षेत्रफलमा धेरै व्यवसायी अटाउने गरेर हाट बजार निर्माण गरिने उनले बताए । ‘व्यापारीलाई बिस्थापित भन्दा स्थापित गर्ने लक्ष्य छ,’ खाँणले भने, ‘त्यसका लागि भैरहवामा आवश्यकता अनुसार आधुनिक हाट बजार निर्माण गरिनेछ ।’

सहर आधुनिक बनिरहेकाले सिद्धार्थ नगरमा चक्रपथ आवश्यक रहेको उनले बताए । ‘निर्वाचन लगत्तै चक्रपथ निर्माणको काम अगाडि बढाइने छ,’ खाँणले भने, ‘स्थानीय सरकारसित समन्वय गरेर धेरै वर्षसम्म भत्काउन नपर्ने फराकिलो र धेरै स्थानीयलाई सुविधा पुग्नेगरि चक्रपथ निर्माण गरिनेछ ।’ सिमावर्ती सहर धेरै पक्षबाट मुलुककै केन्द्र बन्न लागेकाले यहाँ निर्माण गरिने पूर्वाधार सिमित अवधिका लागि मात्र नहुने उनले बताए ।

भैरहवालाई केन्द्रमा राखेर समग्र निर्वाचन क्षेत्र र जिल्लाकै बिकास गरिने उनले बताए । ‘मुुलुकमा प्रजातन्त्र बहालीपछि रुपन्देहीमा बिकास निर्माणको नेतृत्व नेपाली कांगे्रसले गर्दै आएको सबैलाई जानकारी भएकै कुरा हो,’ खाँणले भने, ‘अब पर्यावरणमैत्री आधुनिक रुपन्देही निर्माणको पहल म लगायत कांग्रेस र गठबन्धनका नेताले गर्नुहुनेछ । यसमा आम जनसहभागितालाई प्रोत्साहन गरिनेछ ।’

व्यवस्थित सहर निर्माणको मेरुदण्ड नीजि क्षेत्र भएकाले उहाँहरुसित हातेमाले गरेरै योजना लागू गर्ने खाँणले बताए । ‘समाजका सबै सरोकारवालासित मिलेर आगामी दिनमा बिकास, निर्माणका योजना अगाडि बढाइनेछ,’ उनले भने, ‘तपाईंहरु ढुक्क हुनुुस्, रुपन्देहीको तरक्की हाम्रै पालामा हुनेछ । हामी सबै त्यसको साझेदार हुनेछौं ।’

 
 
  
 

You may also like