भैरहवा ।रुपन्देही क्षेत्र नम्बर ३ बाट पाँच दलीय गठबन्धनका प्रतिनिधिसभा सदस्य पदका साझा उम्मेदवार तथा गृहमन्त्री बालकृष्ण खाँणको पहलमा जिल्लाका विभिन्न क्षेत्रमा सिंचाई योजनाले फड्को मारेको पाइएको छ । पूर्व सिंचाईमन्त्री समेत रहेका खाँणको पहलमा दक्षिण एसियामै चर्चित सोह्र–छत्तीस संयुक्त सिंचाई प्रणालीको कायापलट भएको जिल्लाका पाका व्यक्तिले बताएका छन् ।
गृहमन्त्री खाँणले जिल्लाका विभिन्न क्षेत्रमा मतदातासित भेटघाटका क्रममा बाल्यकालमा सोह्र–छत्तिस सिंचाईको मुहानमा बाँध निर्माण गर्दाको अनुभव सुनाउने गरेका छन् । ‘हामी सानै हुँदा झाला र काठका तीन खुट्टे बोकेर बाँध बनाउन जान्थ्यौं,’ क्षेत्र नम्बर ३ अन्तर्गत रुपन्देहीको सेमलारमा आयोजित कोणसभामा उनले भने, ‘दिनभरि लगाएर बाँध बनायो, पानी परेर तिनाउ बढे्पछि बगाउँथ्यो ।’
बाँध बगाएपछि अर्कोदिन फेरि स्थानीय जुटेर मुहानमा जाने गरेको उनले सुनाए । ‘सोह्र–छत्तिस सिंचाई प्रणाली जिल्लाका लागि धेरै महत्वपूर्ण छ,’ उनले भने, ‘यसलाई व्यवस्थित गर्न धेरै पुस्ताले दुःख सहनु परेको छ ।’ आफू सिंचाईमन्त्री भएपछि सोह्र–छत्तिस संयुक्त सिंचाई प्रणालीका लागि बजेट नियमित तुल्याएको उनले बताए ।
खाँणले सिंचाईको सुविधा पुगे पनि व्यवस्थित कृषि थोक बजार नहुँदा किसानको उत्पादन विक्रीमा समस्या भएको जनाउँदै यसलाई ध्यानमा राखेर सरकारले चालु आर्थिक वर्षको बजेटमा सेमलारमा मुलुककै सबैभन्दा ठूलो कृषि थोक बजार निर्माण गर्न लागेको जनाए । ‘सेमलारमा बन्ने कृषि थोक बजारमा लगेर अब सबै किसानले आफ्नो उत्पादन विक्री गर्न सक्नुहुनेछ’, उनले भने, ‘यहाँ लगेको कृषिउपज नेपालभर पठाउन सकिन्छ नै गौतमबुद्ध विमानस्थलबाट विदेश निर्यात गर्न समेत सकिने छ । एकैठाउँबाट धेरै कृषिउपज खरिद गर्न पाए पछि र विक्री गर्न पाउँदा किसान र व्यापारी दुबैलाई सहज हुनेछ ।’ उनले कृषकलाई लक्षित गरेर नै सरकारले २ अर्ब लागतमा कृषि थोक बजार निर्माण गर्न लागेको जनाए । सिंचाईसँगै कृषि थोक बजारको व्यवस्थापन पनि भएपछि रुपन्देहीको कृषि क्षेत्रमा थप क्रान्ति हुने उनले सुनाए । उक्त थोक बजार अत्याधुनिक र सुविधा सम्पन्न हुनेछ ।
बुटवल–१९ की कृषक माया तिवारीले पहिला सिंचाई नहुँदा समस्या भए पनि अहिले सिंचाईले आफूहरु हर्षित भएको बताइन् । ‘कृषि उत्पादन राम्रो छ, जे लगाए पनि राम्रो फल्छ’, उनले भनिन्, ‘विगतमा पानी नहुँदा हामीले निकै समस्या भोग्नु परेको थियो । अहिले सिंचाईंका लागि दुःखका दिन हटे । सेमलारकी कृषक दलकुमारी थापाले पनि अहिले उत्पादनमा सिंचाईले सहयोग पुयाएको बताइन् । पहिला पक्की बाँध नहुँदा समस्या भए पनि बालकृष्ण खाँण सिंचाई मन्त्री भएकाबेला बाँध पक्की भएपछि नियमित पानी आउने गरेको र उत्पादन बृद्धिमा टेवा पुगेको उनले सुनाइन् ।
सोह्र–छत्तिस संयुक्त सिंचाईं प्रणालीका पूर्व अध्यक्ष रोमणीप्रसाद पाठकले खाँण सिचाईंमन्त्री भएका बेलाबाट यसका लागि नियमित बजेट विनियोजना हुन थालेको बताए । ‘कांग्रेस नेता रामकृष्ण ताम्राकार मन्त्री भएका बेला बाँध बनाउन बजेट विनियोजन भयो,’ पाठकले भने, ‘पछि बालकृष्ण खाँण सिंचाई मन्त्री भएपछि बाँध र नहर पक्की भयो ।’ उनका अनुसार अहिले ३६ मौजा तर्फ ८० प्रतिशत नहर समेत पक्की निर्माण भइसकेका छन् । ‘बाँकी नहर पक्की निर्माण हुने क्रममा छन्,’ उनले भने, ‘१६ मौजा तर्फ पनि नहर पक्की निर्माण हुने क्रम सुरु भएको छ ।’ आगामी डेढ वर्षपछि सबै नहर पक्की निर्माण भइसक्ने उनले बताए । ‘अहिले किसानलाई ढुक्क छ,’ उनले भने, ‘हामीले सिंचाईंका लागि धेरै वर्ष दुःख पायौं ।’
उनका अनुसार करिब तीन दशक अघिसम्म रुपन्देहीमा सिंचाईं प्रणालीको कुनै ठेगान हुन्थेन । त्यसबेला कुलोको पक्की बाँध हुन्थेन । त्यसबेला रुपन्देहीका किसान खेतमा पानी ल्याउन झाला–किला बोकेर बाँधमा पुग्थे । ‘दिनभरि बाँध बाँधेर घर आउथ्यौं,’ शनिवार तिलोत्तमा–६, स्थित निवासमा कुराकानीका क्रममा पाठकले भने, ‘राती बाढी आउँथ्यो, सर्लक्क बगाएर लग्थ्यो ।’ त्यसबेला जिल्लामा खेतीयोग्य जमिन धेरै थियो ।
जिल्लाका अधिकांश बासिन्दा खेतीपातीमा निर्भर थिए । पाठकका अनुसार सोह्र–छत्तिस संयुक्त सिंचाईं प्रणाली पछि मात्र नामकरण गरिएको हो । यहाँका थारु समुदायले कुलोको रुपमा सुरुवात गरेको मानिन्छ । त्यसबेला बुटवलको लुम्बिनी वाणिज्य क्याम्पस नजिक बर्राको रुख रहेको घाटमा बाँध बाँधेर १६ मौंजामा पानी पुर्याइएको थियो । बुटवलकै इटियामा बाँध बनाएर ३६ मौजामा पानी लगिएको थियो । किसानले फरक फरक स्थानमा बाँध निर्माण गरेर कष्टसाथ कुलोमा पानी लगेको देखेपछि भारत सरकारले कन्या ढुंगामा बाँध निर्माण गरेको थियो । सोह्र र छत्तिस प्रणालीको पानी एकै स्थानमा ल्याएर तपाहामा पानी पुर्याइएको थियो । भारतीय बाँध लामो समय टिकेन ।
पाठकका अनुसार २०४० सालमा संयुक्त सिंचाईं प्रणाली कायम भएको हो । तर, पक्की बाँध निर्माण नहुँदा किसानलाई समस्या भयो । ‘पक्की बाँध नहुँदा सधै कष्ट भयो,’ पाठकले भने, ‘वर्षायाममा परिवारै बाँध निर्माणमा खटिनुपथ्र्यो । यसरी खटिनेलाई कुलहारा भनिन्थ्यो ।’ उनका अनुसार त्यसबेला एक बिघा खेत भएका परिवारबाट वर्षेनी १५–१६ जना बाँध निर्माणमा खटिनु पथ्र्यो । ‘अहिले कुलो सफा गर्न वर्षमा दुई जना खटिए हुन्छ,’ उनले भने, ‘पुराना दुख सकिँदैं गएका छन् ।’ यस्तो समस्या भएपछि पटकपटक सरकारसित पक्की बाँध निर्माणका लागि अनुरोध गरिएको उनले सुनाए ।
यहाँका बासिन्दाले हारगुहार गरेपछि तत्कालीन सरकारले अस्थाई सतह बाँध निर्माणका लागि डोजर उपलब्ध गरायो । ‘तर, पक्की बाँध निर्माणका लागि बजेट व्यवस्था भएन,’ उनले भने, ‘धेरैवर्ष त्यसबेलाको सरकारले यसरी अलमल्यायो ।’ उनका अनुसार पञ्च्यायतको अन्तिम समयमा तत्कालीन राजा बीरेन्द्र पश्चिमाञ्चल भ्रमणमा आएका थिए । त्यसबेला यहाँका जनताले पक्की बाँध निर्माणका लागि विन्तिपत्र हालेपछि राजा बीरेन्द्रले तत्कालीन योजना आयोगका उपाध्यक्षलाई चार लाख रुपैयाँ उपलब्ध गराउन तोकादेश दिएका थिए । ‘असार अन्तिमतिर तोकादेश भएकाले बजेट फ्रिज भयो,’ पाठकले भने, ‘०४८ सालमा कृष्णप्रसाद भट्टराई प्रधामन्त्री भएपछि त्यही चार लाख रुपैयाँ माग्यौं र बाँधमा पर्खाल लगायौं ।’