दुई फरार अभियुक्त पक्राउ

by समतल अनलाइन

बागलुङ । विभिन्न मुद्दामा सजाय पाएर फरार रहेका दुई प्रतिवादीलाई बागलुङ प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा फैसला भएर फरार भएका एक जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले १३ वर्षपछि र बैकिङ्ग कसुर मुदामा फैसला भएर फरार रहेका प्रतिवादीलाई ३ वर्षपछि शुक्रबार पक्राउ गरेको हो ।

बागलुङ जिल्लाको साविक बोवाङ गाविस–९ का ५५ वर्षीय पिमबहादुर विक र बानपा–१३ का ५२ वर्षीय विष्णु गिरीलाई निजहरूको घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए ।

विकलाई सर्वोच्च अदालत काठमाडौंले २०६८ साल वैशाख २१ गते १२ वर्ष ६ महिना कैदको फैसला गरेको थियो । २०६६ मंसिर ३० गते साविक बोबाङ–९ का मन प्रसाद विकलाई कुटपिट गरी चोटपिरको कारण पौष ३ गते उपचारका क्रममा ढोरपाटनतर्फ लैजाँदै गर्दा बाटैमा नै मृत्यु भएपछि कुटपिटमा संलग्न रहेको भन्दै जिल्ला अदालत बागलुङले बोवाङ ९ का लाल बहादुर विक, घम बहादुर विक र पिम बहादुर विकलाई जन्म कैदको सजाय सुनाएको थियो ।

उनीहरूलाई पुनरावेदन अदालत बागलुङ र सर्वोच्च अदालत काठमाडौंले २०६८ वैशाख १४ गते जिल्लाको फैसलालाई नै निरन्तरता दिँदै विकलाई १२ वर्ष ६ महिना कैद तोकेको थियो। विक सोकी समयदेखि नै फरार रहेको भन्दै प्रहरीको फरार सूचीमा थिए ।

 
 
  
 

You may also like