पश्चगामी तीन दलीय गठबन्धनले मुलुक चलाउँदैन ः गृहमन्त्री खाँण

by समतल अनलाइन

भैरहवा ।गृहमन्त्री बालकृष्ण खाँणले नेकपा एमाले, राप्रपा र जसपाबीचको तीन दलीय गठबन्धन पश्चगामी भएको आरोप लगाउँदै यो गठबन्धनले देश चलाउन नसक्ने दावी गरेका छन् । एक आपसमा बिचार र सिद्धान्त समेत नमिल्ने र जनताको संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको बिपक्षमा उभिएका शक्तिहरुबीचको गठबन्धनले मुलुकलाई पश्चगमनतर्फ लैजाने उनले बताए ।

नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवं पाँच दलीय गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नं. ३ का प्रतिनिधिसभा उम्मेदवार समेत रहेका खाँणले बिहीबार भैरहवामा आयोजित तरुण प्रशिक्षण कार्यक्रममा बोल्दै नेपालको राष्ट्रियताको संरक्षण गर्दै मुलुुकलाई अग्रगमनको दिशामा अगाडि बढाउन पाँच दलीय गठबन्धन बनेको बताए । ‘तीन दलीय गठबनधन प्रतिगमनको पक्षमा छ । प्रतिक्रिया गर्न सक्छ । तर यसले देश चलाउन सक्दैन,’ उनले भने । पञ्च्यातबिरुद्ध २०४६ सालमा र २०६२–०६३ सालमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउँदा पनि कांग्रेस र बाम मोर्चा मिल्दा सफल भएको उल्लेख गर्दै उनले त्यतिबेला नागरिक माथि दमन गर्नेहरुलाई जनताले राम्रोसँग चिनिसकेको बताए ।

लोकतान्त्रिक गणतन्त्रबाट नै जनता मालिक बनेको उल्लेख गर्दै उनले गणतन्त्रको माध्यमबाट नेपाली नागरिकको अवस्था बदल्न र रोजगारी सिर्जना गरि नेपाली जनतालाई खुशीयालीमा बदल्न पनि पाँच दलीय गठबन्धन आवश्यक रहेको जिकिर गरे । ब्यबस्था बचाएर नागरिकको अवस्था बदल्न तथा पाँच बर्ष भित्र आत्मनिर्भर अर्थतन्त्र निमार्ण गर्न पाँच दलीय गठबन्धनले मात्र सक्ने उनले बताए । उनले युवाहरु माथि मुलुकले ठुलो भरोसा राखेको बताउँदै युवाहरु उर्जाशील भएर उत्पादनमा जोडिनुु पर्नेमा जोड दिए । उनले अग्रगमन र रुपान्तरणको पक्षमा काम गर्न तरुण युवाहरुलाई आग्रह गरे ।

सोही कार्यक्रममा बोल्दै पाँच दलीय गठबन्धनका तर्फबाट प्रदेश सभा ३ (क)का उम्मेदवार सन्तोषकुमार पाण्डेयले युवाहरुमा देखिएको उत्साहले पाँच दलीय गठबन्धनको जित सुनिश्चित जस्तै भएको दावी गरे । उनले देशमै रोजगारीका अवसर सिर्जना गरेर युवाहरुलाई आत्मनिर्भर बनाउने स्पष्ट योजना र कार्यान्वय गर्न सक्ने क्षमता आफूहरुसँग मात्र भएको जिकिर गरे । उनले गृहमन्त्री खाँण विगतमा तरुणदलको अध्यक्ष भए पछि धेरै युवाहरुमा आसाको किरण पलाएको बताउँदै अहिले पनि मन्त्री खाँणले युवाहरुको विश्वासमा कमी आउन नदिएको बताए ।

 
 
  
 

You may also like