काठमाडौँ : हिमालय एयरलाइन्सले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रुवाहक चार्टर उडान गर्ने भएको छ । । हिमालयले काठमाडौं–क्वालालम्पुर–भैरहवा र भैरहवा–क्वालालम्पुर–काठमाडौं रुटमा चार्टर उडान थाल्ने भएको हो ।
चिनियाँ र यति एयरलायन्सको लगानी भएको हिमालय एयरलायन्सले बिहीबारदेखि भैरहवाबाट मेलेसिया उडान गर्ने भएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार ८ वटा चार्टर उडानको अनुमति दिएको हो । प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार हिमालयले नियमित उडानमा जानुअघि भैरहवाबाट चार्टर उडानका लागि मंगलबार अनुमति मागेको थियो । त्यही अनुसार प्राधिकरणले बिहीबारदेखि नै उडान गर्न अनुमति दिएको हो ।
मलेसियासँग नेपाल सरकारले भैरहवाबाट व्यवसायिक उडान गर्ने सम्झौता नगरेसम्म उसले चार्टरकै अनुमति लिई मलेसिया उडान गर्नेछ । हिमालयको काठमाडौंबाट मलेसियाको क्वालालमपुर लागि उडेको जहाज भैरहवा फर्किने छ । त्यहाँबाट यात्रु लिएर पुनस् मलेसिया पुगेर त्यही जहाज काठमाडौं फर्किने अनुमति छ । यसका लागि हिमालयले दुई सेट चालकदल राख्नुपर्ने छ । जसमध्ये एक सेट पहिल्यै मलेसियामा रहनेछ ।
प्राधिकरणले हाल हिमालयलाई काठमाडौंबाट सातामा १० वटा उडानको अनुमति दिएको छ भने नेपाल वायुसेवा निगमले सातामा ५ वटा उडानको अनुमति पाएको छ । प्राधिकरणसँग हिमालयले सातामा १४ वटा उडान मागेको थियो भने निगमले ७ वटा मागेको थियो ।