रुपन्देही २ (क)का सबै वडामा सत्ता गठबन्धनको प्रचार कार्यालय स्थापना

by समतल अनलाइन

बुटवल, १६ कात्तिक । रुपन्देही क्षेत्र नं. २ मा सत्ता गठबन्धनले प्रत्येक वडामा निर्वाचन प्रचारप्रसार तथा परिचालनको लागि सम्पर्क कार्यालय स्थापना गरेको छ । नेपाली काँग्रेसको नेतृत्वमा रहेको सत्ता गठबन्धनले रुपन्देही क्षेत्र नं. २ (क) अन्तरगतका १० वटै वडामा प्रचारप्रसार कार्यालय स्थापना गरिएको प्रदेश सभा क का सचिव बालकृष्ण अर्यालले बताउनु भयो । ती कार्यालयको प्रतिनीधि सभा सदस्य पदका उम्मेदवार केशवबहादुर थापा र प्रदेश (क) का उम्मेदवार दीर्घबहादुर केसीले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो । त्यस्तै प्रदेश सभा (ख) अन्तरगतका वडामा पनि प्रचार प्रसार कार्यालय स्थापना गरिएको छ । यी कार्यालयबाट वडा स्तरमा चुनाव प्रचार प्रसार तथा परिचालनको काम हुने प्रदेश सभा (क) का सभापति खड्गबहादुर महतले जानकारी गराउनु भयो ।

त्यस्तैगरी आसन्न निर्वाचनमा सत्ता गठबन्धनका उम्मेद्वारलाई जिताउनको लागि दलित समुदाय क्रियाशिल भएको छ । सत्ता गठबन्धनमा आवद्ध दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय जनमुक्ति पार्टी निकटका दलित समुदायका अगुवाहरुको बैठकले साझा उम्मेद्वारलाई विजयी बनाउनको लागि निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको नेपाल दलित संघ रुपन्देहीका अध्यक्ष रवि बिकले जानकारी गराउनु भयो ।

बैठकमा नेपाली काँग्रेसका रवि विक, थानेश्वर विश्वकर्मा, जनमुक्तिका हरिओम विक, एकीकृत समाजवादीका यमबहादुर सुनार, नेकपा माओवादी केन्द्रका प्रकाश सुनारले भनाई राख्नुभएको थियो ।

 
 
  
 

You may also like