निर्वाचनलाई निष्पक्ष बनाउन निर्वाचन आचारसंहिता सबैले पालना गरौं : आयुक्त डा. तुलाधर

by समतल अनलाइन

सुर्खेत । निर्वाचन आयुक्त डा. जानकी तुलाधरले निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरेकी छन् । आचारसंहिता उल्लघङ्न गर्ने उमेदवारको उम्मेदवारीसमेत खारेजी हुनसक्ने भन्दै उनले आयोगले जारी गरेको आचारसंहिता पालना गर्न सबै राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरिन् ।

राष्ट्रिय समाचार समितिको सहकार्यमा निर्वाचन आयोगले आज कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरेको मिडिया अभिमुखीकरण कार्यक्रममा आयुक्त डा. तुलाधरले आगामी मंसिर ४ गते हुने निर्वाचन दुईवटा कुरामा केन्द्रीत रहेको बताइन् ।

डा. तुलाधारले भनिन, ‘पहिलो त निर्वाचनलाई निष्पक्ष बनाउन निर्वाचन आचारसंहिता पालना गराउनु हो, अर्को मतदाता शिक्षालाई जोड दिएका छौँ ।’ सञ्चार माध्यमले गत स्थानीय तहको निर्वाचनमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै उनले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि त्यतिकै भूमिकाको अपेक्षा गरिएको बताइन् ।

‘सञ्चारमाध्यम भनेको महत्वपूर्ण कडी हो’, उनले भनिन्, ‘मतदाता शिक्षामा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण छ, निष्पक्ष निर्वाचन बनाउन आयोग र सञ्चारमाध्यमको सहकार्य पनि उत्तिकै आवश्यक छ ।’ आयोगले अहिले मतदाता शिक्षालाई जोड दिएको भन्दै आयुक्त तुलाधरले मतदाता शिक्षा र आचारसंहिता पालनामा सबै सरोकारवालाको दायित्वभित्र पर्ने बताइन् । मिथ्या सूचनालाई निस्तेज पार्न मिडियाको साथ आयोगलाई चाहिएको उनको भनाइ छ ।

 
 
  
 

You may also like