रूपन्देहीलाई विकासको केन्द्र बनाउँछौंः गृहमन्त्री खाँण

by समतल अनलाइन

भैरहवा ।गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीलाई मुलुककै विकासको मुख्य केन्द्र बनाउने गरी काम गरिने बताएका छन् । उनले रुपन्देहीको तिव्र आर्थिक, भौतिक, तथा पूर्वाधार र मानवीय विकासका लागि आफू निरन्तर लागिपरेको जनाउँदै अहिले भइरहेको विकासको कामलाई अझै फराकिलो बनाउँदै लैजाने जनाए । गृहमन्त्री खाँणले हरेक दृष्टिकोणले रुपन्देही विकासका लागि उपयुक्त ठाउँ भएको उल्लेख गर्दै काँग्रेस र पाँच दलीय गठबन्धनले जिल्लालाई देशकै नमूना बनाउने विश्वास व्यक्त गरे ।

पाँच दलीय गठबन्धनबाट रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका नेपाली काँग्रेसका प्रभावशाली केन्द्रीय सदस्या खाँणले सोमबार बुटवल–१७, १८ र १९ का विभिन्न स्थानमा आयोजित कार्यक्रममा बोल्दै जिल्लाको विकास र गौरवबृद्धिका लागि निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरे । ‘क्षेत्रबासीले मात्रै होइन्, जिल्ला र सिंगो मुलुकका नागरिकले मलाई र गठबन्धनलाई जुन किसिमको भरोसा गर्नुभएको छ, यसमा कुनै किसिमको कमी हुन दिँदैनौं’, उनले भने, ‘हरेक क्षेत्रमा समानुपातिक विकास गरेर रुपन्देहीलाई अग्रणी जिल्ला बनाएरै छाड्छौं ।’

२०४८ सालदेखि रुपन्देहीबासीले आफूलाई निरन्तर सहयोग, माया र सद्भाव देखाउँदै आएको स्मरण गर्दै गृहमन्त्री खाँणले जनताको भरोसालाई कहिल्यै कमी हुन नदिएको र आगामी दिनमा नदिने प्रष्ट पारे । ‘तपाईंहरुको यही मायाका कारण मैले जिल्लामा साना–ठूला सबै किसिमका योजनाहरु ल्याउन, कार्यान्वयन गर्न र सफल तुल्याएर जनताको जीवनमा परिवर्तनको महसुुस गराउन सफल भएको हुँ’, उनले भने, ‘केही मानवीय विकासमा योगदान दिने र ठूला परियोजना ल्याएर सम्पन्न गराउन पनि यसपटक गठबन्धनले फेरि जित्न जरुरी छ ।’

गौतमबुद्ध विमानस्थल, व्यापारिक मार्ग, सिंचाई तथा कृषिका साना–ठूला दर्जनौं योजना रुपन्देहीमा भित्र्याएर र ती योजनाहरु सफल तुल्याउन काँग्रेसले अग्रणी भूमिका खेलेको उनले स्मरण गराए । तिनाउ र दानव नदीले हुने गरेको कटान रोक्न आफू सिंचाईमन्त्री हुँदा जनताको तटबन्ध कार्यक्रम ल्याएर रोकथाम गरिएको जानकारी गराउँदै खाँणले यसलाई अब अझै प्रभावकारी बनाइने बताए । ‘अब अझै मजबुत हुने गरी काम गर्नुपर्छ, नदीले कटान गरेको क्षेत्रमा जनताको जमिन छ, त्यसलाई संरक्षण गर्नुपर्छ, सार्वजनिक ठाउँ भएमा त्यहाँ विद्यालय, मन्दिर, पार्क बनाएर आम्दानीको स्रोत बनाउनुपर्छ’, उनले भने, ‘नदी कटानको भय सधैंका लागि अन्त्य गर्न यो सरकार कटिबद्ध छ, म र गठबन्धन कटिबद्ध छ ।’ उनले रोहिणी नदीमा पनि नदी कटानलाई व्यवस्थित गर्ने जनाए ।

मोतीपुर औद्योगिक क्षेत्रको क्षेत्रफल घटाएर त्यहा स्थायी बसोबास गर्ने व्यक्तिहरुको समस्या दिगो रूपमा समाधान गर्नेतर्फ सरकार लागि परेको उनले जनाए । ‘स्थानीयलाई मर्का नपर्ने र धेरै लाभ मिल्ने गरी औद्योगिक क्षेत्रलाई राष्ट्रकै नमुना औद्योगिक क्षेत्रका रुपमा विकास गरिनेछ,’, उनले भने, ‘यस क्षेत्रका वासिन्दाहरुलाई रोजगारीको सुनिश्चितता गरिनेछ । यसमा म कटिबद्ध छु । यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु ।’ खाँणले यसअघि सरकारका दुईदुईजना बहालवाला मन्त्री आएर औद्योगिक क्षेत्र शिलान्यास गर्न खोज्दा स्थानीयमाथि दमन भएको बताए । उनले त्यो दमनविरुद्ध आफूले आवाज उठाएको र अहिले सरकारमा आइसकेपछि औद्योगिक क्षेत्रका बासिन्दालाई व्यवस्थापन गर्ने गरी काम सुरु गरेको बताए ।

खाँणले विकास जरुरी रहे पनि स्थानीय बासिन्दाको व्यवस्थापन नगरी कुनै पनि योजनालाई जबरजस्त अगाडि बढाउन नहुने बताए । ‘विकास जनताका लागि हो, त्यही विकासले कसैलाई उठिबास गर्छ, घरबारबिहीन बनाउँछ, प्रताण्डित गर्छ भने त्यसको अर्थ रहँदैन’, उनले भने, ‘जहाँ विकास गरे पनि स्थानीयका माग सम्बोधन गर्दै स्थानीयलाई व्यवस्थापनको राम्रो प्रबन्ध गरेर काम अघि बढाउनुपर्छ ।’ गृहमन्त्री खाँणले तिनाउ नदीको छेउछाउमा स्थानीयलाई अधिकतम लाभ मिल्ने गरी व्यापारिक प्रयोजनका लागि ६ लेनको सडक निर्माण गर्ने बताए । ‘त्यसको छेउ–छाउमा वृक्षारोपण गरी हरियाली सडक बनाइनेछ, साथै हरियाली पार्कहरुको समेत निर्माण गरिने छ’, उनले भने, ‘यहाँ हुने अवसरमा स्थानीयलाई प्राथमिकता दिइने छ ।’

क्षेत्र नम्बर ३ (ख)का उम्मेदवार रामचन्द्र ढकालले गृहमन्त्री खाँणको पहलमा रुपन्देहीको विकासले फड्को मारेको बताउँदै अब नयाँ योजना ल्याउन र त्यसलाई सार्थकता दिन पनि गठबन्धनले जित्न जरुरी रहेको जनाए । उनले अबको विकास कंक्रिटको मात्रै भएर नहुने जनाउँदै मानवीय विकासमा पनि उत्तिकै ध्यान दिन जरुरी रहेको प्रष्ट्याए । उनले पछिल्लो पाँच वर्षमा यस क्षेत्रका प्रदेश सभा सदस्य रहेका नेताले कुनै पनि काम गर्न नसकेको जनाउँदै अब आफूले विकासको नेतृत्व लिने जिकिर गरे । ‘हामीले सही प्रतिनिधि चुन्यौं भने शिक्षा, स्वास्थ्य, रोजगार, विकास लगायतका कुरामा अभाव खेप्न पर्दैन’, उनले भने, ‘यसपटक अवसर छ, सही प्रतिनिधि चुन्न गठबन्धनलाई जिताऔं ।’

 
 
  
 

You may also like