सन्दीप लामिछानेविरुद्ध सोमबार मुद्दा दर्ता हुँदै, पुर्पक्षका लागि जेल जाने सम्भावना

by समतल अनलाइन

काठमाडौं । बालिका बलात्कार अभियोगमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरूद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता हुने भएको छ ।

जिल्ला सरकारी कार्यालय काठमाडौंले लामिछानेसँग बयान सकेर प्रतिवेदन तयार गरी सोमबार अदालतमा मुद्दा दर्ता गर्ने भएको हो । २० असोजदेखि प्रहरी हिरासतमा रहेका लामिछानेविरुद्ध प्रहरीले तीन पटक म्याद थप गरी अनुसन्धान गर्दै आएको छ ।

उनीसँग प्रहरीले बयान समेत लिइसकेको छ । प्रहरीले बलात्कार अभियोगमा १२ वर्षसम्म कैद सजाय माग गर्दै मुद्दा दर्ताको तयारी गरेको छ । सोमबार मुद्दा दर्ता गरेपछि मंगलबारदेखि थुनछेक बहस हुने भएको छ ।

एक नाबालिगले आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै उनीविरुद्ध गएको भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । जाहेरीमा सन्दीपले भदौ ५ गते राति पिंगलास्थानको ‘होटेल काठमाडौं इन’ मा लगेर बलात्कार गरेको उल्लेख छ । सो होटेलको सीसीटीभी फुटेजमा त्यस दिन सन्दीप ती किशोरीसँगै प्रवेश गरेको र भोलिपल्ट बाहिरिएको देखिएका छन् । सोही प्रमाणका आधारमा पनि सन्दीप पुर्पक्षका लागि जेल जाने सम्भावना बढी भएको प्रहरी र सरकारी वकिलहरू बताउँछन् ।

एक सरकारी वकिलले भने, ‘प्रमाणहरू हेर्दा कुनै पनि हालतमा सन्दीप तारेख वा धरौटीमा छुट्ने सम्भावना छैन । उनी नाबालिगसँग होटेल प्रवेश र बाहिरिएको प्रस्टै देखिन्छ । यो फुटेज नै उनी पुर्पक्षमा जाने पहिलो प्रमाण हो ।’ पुर्पक्षका लागि थुनामा गए पनि अदालतको अन्य प्रक्रिया निरन्तर अगाडि बढ्ने छ ।

भदौ ६ गते सन्दीप नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेल्न केन्या गएका थिए । केन्याबाट क्यारेबियन प्रिमियर लिग खेल्न उनी जमैका गएका थिए । जाहेरी परेको एक महिनापछि उनी नेपाल आएका थिए । सोही क्रममा असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । प्रहरी अनुसन्धानका क्रममा उनी अमेरिकाबाट नेपाल आएको खुलेको थियो ।

सरकारी वकिलसँगको बयानका क्रममा सन्दीपले आफूमाथिको आरोप अस्वीकार गरेका छन् । उनले आफूविरुद्ध जाहेरी दिनेकै आग्रहमा होटेलमा बसेको र यौनजन्य कार्य नगरेको दाबी गरेका छन् । भदौ ५ गतेको होटेल काठमाडौं इनको सीसीटीभी फुटेज रिपोर्टसँगै होटेलका कर्मचारीको बयान पनि अभियोजनपत्रमा उल्लेख छ । पीडितको बयान, मेडिकल जाँच पनि अभियोजनपत्रमा समावेश छ । अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार सन्दीपले प्रयोग गरेको सामाजिक सञ्जालका च्याटहरू पनि ‘रिकभर’ भएको छ ।

 
 
  
 

You may also like