देशभर बर्षाको सम्भावना, पश्चिमी भेगमा ठूलो पानी पर्ने

by समतल अनलाइन

काठमाडौं । अहिले देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको मौसमविदले जनाएका छन् । प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उत्तरपूर्वी राजस्थानको आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

आज (सोमबार) दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको साथै यी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । महाशाखाका अनुसार राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कर्णाली, लुम्बिनी र मधेस प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भोलि मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै, असोज २६ गते बुधबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । महाशाखाका अनुसार प्रदेश १, मधेस र वाग्मती प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 
 
  
 

You may also like