खरिद गरेको परिमाणमा इन्धन उपलब्ध गराउन निगमसंग ब्यवसायीको माग

by समतल अनलाइन

बुटवल। नेपाल आयल निगम लुम्विनी प्रादेशिक कार्यालय भलवारी रुपन्देहीमा सरुवा भइ आएका प्रादेशिक प्रमुख जगदिशचन्द्र यादवलाई पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसन, बुटवलले आइतबार स्वागत गरेको छ ।

एशोसिएसनले कार्यालयबाट सरुवा भई जान लागेका प्रादेशिक प्रमुख नवविनोद पोखरेललाई बिदाई र यादवलाई स्वागत गरेको हो । सो अवसरमा बोल्दै पेट्रोलियम व्यवसायीहरूले खरिद गरेको इन्धन नपुग्ने समस्या झेल्दै आएको बताउँदै यसको दीगो समाधान हुने गरी काम गर्न नयाँ कार्यालय प्रमुखलाई सुझाव दिए । डिपो बाट लोड भई ट्याङकर चालकले डिलर्स सम्म पुर्याउंदा खरिद गरेको भन्दा कम इन्धन पुग्ने समस्या देखिएको उनीहरुको गुनासो छ । केन्द्रीय कार्यायलबाट सरुवा भई भलवारी डिपोमा आएका प्रमुख यादवले इन्धनको घाटा रोक्न व्यवसायीहरु लाग्नुपर्ने बताए । उनले इन्धन ल्याएको ट्याङकरको रेकर्ड ब्यवसायीहरुले राखेर कार्यालयमा सूचना गरेमा त्यस्ता ट्यांकरलाई छानविन गरी कार्यालयले आवश्यक कारवाही अगाडि बढाउने बताए । ‘ट्याङकरको किलिनिङ गर्न जरुरी छ भन्दै उनले पम्पको नियमित चेकजाँच सँगै आगलागी घटना न्यूनीकरणका लागि पनि व्यवसायीहरुले सेफ्टी अपनाउन आवश्यक छ’ यादवले भने । उनले ब्यवसायीहरुसंग समन्वय र सहकार्य गरेर अगाडी बढ्ने बताउंदै नियतवस ब्यवसायीहरुलाई निरास बनाउने काम आफुवाट नहुने विश्वास दिलाए । कार्यक्रममा प्रादेशिक कार्यालयबाट केन्द्रीय कार्यालयमा सरुवा भएका प्रमुख नवविनोद पोख्रेलले ब्यवसायीका समस्याप्रति आफू जहाँ भए पनि सहयोग गर्न तयार रहेको बताए ।

एशोसिएसनका अध्यक्ष प्रेम न्यौपानेले लकिङ प्रणाली प्रभावकारी नभएको भन्दै त्यसतर्फ डिपोको ध्यान जान आग्रह गरे । ‘लकिङ प्रणाली जहाँ पायो त्यही नखुल्ने बनाउनपर्ने देखियो । जसले गर्दा चुहावट रोकिएन चालकका कारण खरिद गरेको इन्धन डिलर्ससम्म पुग्दा इन्धन पुग्दैन’ अध्यक्ष न्यौपानेले भने । पुरा मूल्य भूक्तानी गरेपछि पुरा परिमाणको इन्धन ब्यवसायीले पाउनु पर्ने भन्दै उनले यसतर्फ कार्यालय प्रमुखको ध्यानजानुपर्ने वताए । ब्यवसायीहरुले आफै अप्ठेरो र समस्यामा पर्ने गरी गलत काम नगर्ने भन्दै उनले निगमले ब्यवसायीहरुलाई सम्मान गर्नुपर्ने बताए ।

एशोसिएनका बरिष्ठ उपाध्यक्ष हिमाल गैरेले पेट्रोलियम ब्यवसायी निगमसंग सहकार्य र समन्वय गरेर अगाडी बढ्ने बताए । यस क्षेत्रका ब्यवसायीले विगत लामो समयदेखि इन्धन लसको समस्या भोग्दै आईरहेको भन्दै समस्या समाधान गर्ने तर्फ निगमको ध्यानजानु पर्ने बताए । एशोसिएसनका महासचिव हरिराम कसौधनले इन्धनको मूल्य बढे पनि व्यवसायीले पाउनुपर्ने कमिसन नबढ्दा घाटामा इन्धन विक्री गर्न बाध्य भएको गुनासो गरे । एशोसिएसनका प्रेस सल्लाहकार खिमानन्द भट्टराईले व्यवसायीका समस्या सम्वोधन गर्नेतर्फ नव आगन्तुक प्रमुखको ध्यान जानुपर्ने बताए । एशोसिएसनका अध्यक्ष प्रेम न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

 
 
  
 

You may also like