शेखर कोइरालाको चेतावनी : कांग्रेसले १०० सिट नलिए पार्टीभित्र विद्रोह हुन्छ

by समतल अनलाइन

जनकपुर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी प्रतिनिधिसभाको निर्वाचनमा पार्टीले एक सयभन्दा कम सिट स्वीकार गर्न नहुने बताएका छन् । कांग्रेसलाई १०० सिट भन्दा कम गरी गठबन्धनमा सहमति गरिए पार्टीभित्र विद्रोह हुने उनले चेतावनी समेत दिए ।

बुधबार जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै सत्ता गठबन्धनमा सहभागी अन्य दलसँग सहमति गरी नेपाली कांग्रेसले एक सय सिट लिन पहल गर्नुपर्ने बताका हुन् । ‘सय सिटमा पनि कांग्रेसभित्र व्यवस्थापन गर्न गाह्रो छ । त्योभन्दा कम पाए स्थिति भयावह हुन्छ’, उनले भने, ‘कांग्रेसभित्र विद्रोह हुन सक्छ । विद्रोह भए गठबन्धनको औचित्य समाप्त हुन्छ ।’

उनले अगाडि भने, ‘न्यायोचित ढंगबाट टिकट वितरण हाम्रो पार्टीभित्र पनि हुनुपर्‍यो । सँगै गठबन्धनमा १०० सिट भन्दा कम भयो भने विद्रोह र विग्रह कांग्रेसमा हुन्छ ।’

नेता कोइरालाले गठबन्धनमा अझै सिटको विषयमा सहमति नभएकाले तत्काल आपत्ति जनाउनुपर्ने अवस्था आइनसकेको बताए । नेता कोइरालाले गठबन्धनभित्र सहमति हुन अझै बाँकी रहेकाले प्रतिनिधिसभाको सिट बाँडफाँट भइसकेपछि प्रदेशसभाको सिट बाँडफाँटमा कुराकानी हुने बताए ।

 
 
  
 

You may also like