भारतीय व्यापार मण्डलका अध्यक्ष शर्मालाई बुटवलमा स्वागत ः कर अधिकृतहरुलाई विदाई

by समतल अनलाइन

बुटवल । अर्थ मन्त्रालयमा सरुवा हुनु भएका आन्तरिक राजश्व कार्यालय भैरहवा प्रमुख मुक्तिराम आचार्य र आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख ध्रुव पाण्डेलाई बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले विदाइ गरेको छ । त्यस्तै बुटवल आउनु भएका भारतीय राष्ट्रिय व्यापार मण्डलका कार्यकारी अध्यक्ष के. के. शर्मालाई स्वागत गरिएको छ ।
संघले बिहिबार बुटवलमा एक कार्यक्रमको आयोजना गरी रुपन्देहीका कर कार्यालयका प्रमुख कर अधिकृतहरुलाई विदाइ तथा छिमेकी देशका राष्ट्रिय व्यापार मण्डलका कार्यकारी अध्यक्ष शर्मालाई स्वागत गरेको हो ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले दुवै कर अधिकृतहरुबाट सहकार्य तथा राम्रो सहयोग पाउनुका साथै उद्योग व्यवसायमैत्री व्यवहार प्राप्त भएको बतनउनु भयो । त्यस्तैगरी उहाँले यहाँको उद्योग, व्यापार, व्यवसाय विकासको लागि भारतीय व्यापार मण्डलसंग सहकार्य गर्न चाहेको बताउँदै साथ दिन कार्यकारी अध्यक्ष के. के. शर्मालाई आग्रह गर्नुभयो ।
त्यस अवसरमा भारतीय व्यापार मण्डलका अध्यक्ष शर्माले बुटवलसंग आफ्नो सम्बन्ध ३५ वर्ष पुरानो रहेको जानकारी गराउँदै भारतीय व्यापार मण्डल बुटवल उद्योग वाणिज्य संघको साथमा रहेको बताउनु भयो । ’नेपाल भारतको सम्बन्ध दुई दाजुभाईको जस्तै हो ।’ उहाँले भन्नुभयो–’भारतीय राष्ट्रिय व्यापार मण्डल हिजो पनि बुटवलको साथमा थियो, आज पनि छ र भोली पनि रहने छ ।’ उहाँले बुटवल उद्योग वाणिज्य संघको टोलीलाई भारत भ्रमणको निम्तो पनि दिनुभयो ।
त्यस्तै आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख पाण्डे र भैरहवाका प्रमुख आचार्यले यहाँ रहदा यहाका संघसंस्था र उद्योगी व्यवसायीहरुको राम्रो सहयोग प्राप्त भएको बताउंदै यहाँको व्यवसायिक नेतृत्वले नीति निर्माण तहमा पहुँच राख्ने गरी क्वालिटी सर्कल विकासमा जोड दिनुभयो । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, सल्लाहकार तथा पूर्व अध्यक्ष निर्मलप्रसाद लाकौल, महासचिव बिमलराज भट्टराई लगायतले भनाई राख्नुभएको थियो ।

 
 
  
 

You may also like