नविन घिमिरे
सैनामैना । रुपन्देहीको कञ्चन गाउँपालिकाका जनप्रतिनिधिहरुको पहिलो एक सय दिन पूरा भएको छ । गत बैशाख ३० गते भएको निर्वाचनबाट जनप्रतिनिधिको भूमिकामा आएका कन्चनका जनप्रतिनिधिले पहिलो एक सय दिनलाई उपलब्धिका रुपमा लिएका छन । अध्यक्ष नवराज ढकालले आफूले निर्वाचनमा गरेको प्रतिवद्धता अनुसार अहिले एक सय दिनको कामको प्रगतिले आफूलाई उत्साहित बनाएको बताए ।
उनले निर्वाचित भएपछि सबैभन्दा पहिले कन्चनको प्रमुख समस्याका रुपमा रहेको सुकुम्वासी समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका थिए । सोही प्रतिवद्धता अनुसार सपथ लिएर कार्यभार सम्हाले लगत्तै काठमाण्डौं पुगेर राष्ट्रिय भूमि आयोगसंग सम्झौता गरी काम अघि बढाएका थिए ।
अहिले कन्चनमा जग्गा नापजाँचको काम करिव सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष ढकालले सुकुम्वासी समस्या समाधानको पहिलो प्राथमिकता संगै शिक्षालाई दोश्रो प्राथमिकता र कृषिलाई तेश्रो प्राथमिकतामा राखेर काम गरेको बताएका छन ।
उनले कन्चनको शिक्षालाई गुणस्तरीय बनाउन पहल भैरहेको र शिक्षामा आमूल परिवर्तन गर्ने प्रतिवद्धता जनाउँदै शिक्षासंगै कृषि अर्को प्राथमिकतामा परेको बताए । कञ्चन गाउँपालिकाका ९० प्रतिशत जनताको प्रमुख श्रोत कृषि हो ।
यहाँका स्थानीय जनताले कृषि र पशुपालनलाई जीविकोपार्जनको प्रमुख आधार बनाएका छन । कन्चनमा सिंचाईको राम्रो सुविधा नभएका कारण कृषकहरुले समस्या भोग्दै आएको पाएपछि अध्यक्ष ढकालले अव सतह सिंचाईको राम्रो प्रवन्ध गरेर कन्चनलाई कृषिमा अब्बल बनाउने प्रतिवद्धता जनाए ।
यसअघिका जनप्रतिनिधिले स्यालो र डिप ट्यूववेललाई प्राथमिकतामा राखेपनि त्यो प्रभावकारी नभएपछि सतह सिंचाईलाई पालिकाले प्राथमिकता दिने भएको हो । अध्यक्ष ढकाल स्यालो र डिप ट्यूवेलको विकल्पमा सतह सिंचाई प्रभावकारी हुने बताउँदै आगामी दिनमा सतह सिंचाईलाई प्राथमिकतामा राखेर काम अघि बढाउने बताए ।