काठमाडौं । नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सको अनधिकृत संरचना काठमाडौं महानगरले डोजर लगाएर भत्काई दिएको छ । महानगरका मेयर बालेन (बालेन्द्र) शाहको उपस्थितिमा नक्सा बिना बनाइएको अल्फाबिटाको अनधिकृत संरचनामा डोजर चलाइएको हो । यसअघि बिहान सोही स्थानमा पुगेका शाह र डघरबेटी द्विराज शर्माबीच सवाल जवाफमा चलेको थियो । तर नियमानुसार अवैध संरचना भत्काइने भन्दै फर्किएका बालेन बिहीबार दिउँसो पुनः डोजर लिएर भत्काउन पुगेका हुन् ।
बिहान अनुगमनका लागि पुग्दा अल्फाबिटाले भवनको अगाडिको भागमा पार्किङस्थलको साटो सटर निकालेर फार्मेसी सञ्चालन गर्न दिएको पाइएको थियो । यस्तो देखेपछि बालेनले शर्मासँग घरको नक्सा मागे । तर, शर्माले महानगरसँग होला भन्दै उल्टै बालेनसँग मागे । त्यसपछि आक्रोशमा आएका बालेनले भने, ‘तपाईको घरको नक्सा मसँग हुनुपर्छ ?’ घरबेटीले नक्सा नगरपालिकासँगै हुने र मिडिया लिएर स्टन्ड देखाउन आएको आशयसहित कटाक्ष गरे । त्यसपछि ३५ दिने सूचना देखाएर जंगिँदै बालेनले भने, ‘यत्रो नोटिस दिएको छ, यो के हो ? ३५ दिनभित्र खाली गर भनेर नोटिस दिएको छैन ?’
बालेन जंगिएपछि जनप्रतिनिधि आवेगमा नआउनू भन्दै केहीले बालेनलाई सम्झाउने प्रयास समेत गरेका थिए । बालेनले पार्किङका लागि बनाइएको बेसमेन्टमा अन्य व्यवसाय सञ्चालन गरेको पाइएपछि त्यसलाई हटाउन निर्देशन दिएर फर्किएका छन् ।
तर, हट्ने छाँटकाँट नदेखिएपछि डोजर लगाएर भत्काइएको छ । एउटा प्रयोजनका लागि बनाइएको संरचना अर्को प्रयोजनमा प्रयोग भएपछि महानगरले यसअघि नै ३५ दिने सूचना निकालेको थियो । ३५ दिनसम्म पनि नहटाएपछि महानगर आफैंले संरचना हटाउन थालेको हो । यसअघि बुधबार काठमाडौं मल र न्युरोडको आरबी कम्प्लेक्स लगायतको अनधिकृत संरचनामा डोजर चलाइएको थियो ।