खप्तड लघुवित्तको एक करोड ३२ लाखको आईपीओ आजबाट बिक्री सुरु

by समतल अनलाइन

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाले आज (बुधबार) बाट सर्वसाधारणका लागि आईपीओ निष्कासन बिक्री सुरु गरेको छ । लघुवित्तले १०० रुपैयाँ अंकित मूल्यका एक करोड ३२ लाख रुपैयाँ बराबरको एक लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।

लघुवित्तले निष्कासन गरेको कुल सेयरमध्ये दुई हजार कित्ता कर्मचारीहरूका लागि र ६ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ । बाँकी रहेको एक लाख २३ हजार ४०० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

उक्त आईपीओमा भदौ १२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयसम्म मागबमोजिम आवेदन नपरेमा भदौ २२ गतेसम्म आवेदन दिने समय थप हुने बताइएको छ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम एक हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । इच्छुक आवेदकले मेरोसेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् । यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सी-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट पनि आवेदन दिन सक्ने जनाइएको छ ।

सर्वसाधारणलाई निष्कासन गरिने सेयरका लागि कम्पनीलाई इक्रा नेपाल लिमिटेडले ‘इक्राएनपी-आईआर डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्छ । वास्तविक वित्तीय विवरण २०७७/७८ अनुसार कम्पनीको प्रतिसेयर आम्दानी एक रुपैयाँ नौ पैसा छ । प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ नौ पैसा छ ।

उक्त अवधिसम्म कम्पनी २९ करोड नौ रुपैयाँ लाख सञ्चित नाफामा छ । कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्स) बाट दोस्रो बजारमा करोबारका लागि १०१ रुपैयाँ नौ पैसादेखि ३०३ रुपैयाँ २७ पैसा मूल्य रेन्ज पाउने देखिन्छ । कुनै पनि कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले वास्तविक प्रतिसेयर आम्दानीको तीन गुणासम्म मूल्य रेन्ज तोक्ने गर्छ ।

 
 
  
 

You may also like