सप्तरी । तराई मधेसका जिल्लामा अत्याधिकरूपमा गर्मी बढेको छ । पानी परेको छैन, तापक्रम दिनदिनै बढ्दो छ । यसले मधेसमा गर्मी असह्य बनेको छ । बिहानैदेखि लाग्ने चर्को घामले जनजीवन कष्टकर बनाएको छ । उखरमाउलो गर्मीले सहर-बजारमा दिउँसो चहलपहल पातलिएको छ । गर्मी यति बिघ्न छ कि पङ्खाबिना एकै क्षण बस्न पनि गाह्रो छ ।
सप्तरीको बोदे बर्साईन नगरपालिका-३ मधुवनका रामअशिष यादवका छोरा १८ वर्षीय रामनरेश यादव आज घरबाहिर निस्कन सकेनन् । टन्टलापुर घाम र गर्मीका कारण घरबाट बाहिर निस्कन नसकेका उनी हावा खान घरकै बरन्डामा बसे । असह्य गर्मीका कारण पर्खालमा टेबल पङ्खा राखेर हावा लिन थाले । अचानक हातले पङ्खामा छुन पुगेका रामनरेश करेन्ट लागेर घाइते भए । घाइतेलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज ल्याइयो । चिकित्सकले ढिला भएको भन्दै मृत घोषणा गरे ।
करेन्ट लागेर सप्तरीमा योसमेत नयाँ आर्थिक वर्षमा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । साउन १८ गते कञ्चनरूपमा बुहारीलाई करेन्ट लागेको देखेर जोगाउन जाँदा ससुरा समेतको मृत्यु भएको सप्तरीवासीले बिर्सिएका छैनन् । कञ्चनरूप नगरपालिका-६ घोघनपुरका नरेश सरदारकी श्रीमती २० वर्षीया अञ्जली सरदारलाई करेन्ट लागेको देखेर जोगाउन गएका उनका काका ससुरा ४० वर्षीय मधु भनिने सौदानन्द सरदारको समेत मृत्यु भएको थियो । घर आँगनमा रहेको ट्युबवेलमा जडान रहेको पानी तान्ने मोटर चलाउँदा अञ्जलीलाई करेन्ट लागेको थियो ।
यसैगरी सप्तरीको राजगढ गाउँपालिका-२ कमलपुर बस्ने दुखी साहका छोरा ५६ वर्षीय शिवशङ्कर साहको समेत साउन १७ गते करेन्ट लागेर मृत्यु भएको थियो । आफ्नै घरको आँगनमा रहेको चापाकलमा जडान गरिएको मोटरमा पानी तान्ने क्रममा करेन्ट लागी उनको मृत्यु भएको हो । खडक नगरपालिका-११ लालपुरमा साउन ९ गते खेतमा सिँचाइ गर्नका लागि जडित मोटर खोल्ने क्रममा करेन्ट लागेर ६० वर्षीय शत्रुघ्न खङ्ग मण्डलको ज्यान गयो ।
लापरवाहीकै कारण सप्तरीमा गत एक वर्षको अवधिमा करेन्ट लागेर १२ जनाले अकालमा ज्यान गुमाएका छन् । यो वर्षको सुरुआतमै पाँच जनाको करेन्ट लागेर मृत्यु भइसकेको सप्तरी प्रहरीले जनाएको छ ।
आर्थिक वर्ष २०७८/०७९ को तथ्याङक हेर्दा करेन्ट लागेर ज्यान गुमाउनेको सङ्ख्या १२ र घाइते हुनेको सङ्ख्या २६ जना रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ । ज्यान गुमाउनेमा चार महिला, छ पुरुष र दुई बालक रहेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार करेन्टका ४० घटनामा तीन चौपायाको समेत मृत्यु भएको छ । घाइते हुनेमा १२ महिला, आठ पुरुष र छ बालक थिए ।
ज्यान गुमाउनुको मुख्य कारण मानिसहरूको लापरवाही र विद्युत् प्राधिकरणको पनि लापरवाही हुने गरेको जिल्ला प्रहरी कार्यालयको निष्कर्ष छ । सावधानीपूर्वक बिजुलीको प्रयोग गर्न, बिग्रेका विद्युत् उपकरणको समयमै मर्मत गरेर उपयोग गर्न र गैरकानूनी तरिकाले बिजुलीको दुरूपयोग नगर्न सप्तरी प्रहरीले अपिल गरेको छ ।