सीपीसी विदेश विभाग प्रमुख लिउ काठमाडाैँमा, आजैदेखि उच्चस्तरीय भेटवार्ता

काठमाडौँ । नेपाल भ्रमणका लागि आज (आइतबार) बिहान काठमाडौं आइपुगेका चिनियाँ कम्युनिस्ट पार्टीका (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले आजैदेखि उच्चस्तरीय भेटवार्ता शुरु गर्ने भएका छन् ।

उनले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भेट्ने कार्यक्रम तय भएको छ । लिउले भोलि (सोमबार) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गर्नेछन् ।

लिउले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मंगलबार बिहान ओली निवास बालकोटमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईले जानकारी दिएका छन् ।

चिनियाँ विदेश विभाग प्रमुखले बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । ६ सदस्यीय चिनियाँ टोली लिएर आएका लिउ एअर चाइनाको विमानबाट आज बिहान पौने ११ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

चिनियाँ नेता लिउलाई परराष्ट्र मन्त्रालयका डेपुटी चिफ अफ प्रोटोकल रेवती पौडेल र प्रमुख दलका विदेश विभागका नेताले स्वागत गरेका थिए । नेपाल भ्रमणमा आएको चिनियाँ नेता लिउको टोली चार दिनसम्म रहने छ ।

 
 
  
 

You may also like