झविन्द्र देवकोटा
बुटवल । रुपन्देहीको देवदह नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि बजेट सार्वजनिक गरेको छ । नगरसभाले आगामी वर्षका लागि १ अर्ब ६ करोड २१ लाख बरावरको बजेट सार्वजनिक गरेको हो । नगरपालिकाको सम्पन्न ११ औ नगरसभामा उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले आगामी बर्षको अनुमानित आय ब्यय, बिनियोजन बिधयक, आर्थिक विधयक, शिक्षा ऐन संसोधन प्रस्ताव, नगर न्यायिक समिति गठन लगायतका विषय प्रस्तुत गर्नु भएको हो ।
बजेटमा देवदहको पुर्वाधार, कृषि, पर्यटनलाई प्राथमिकता दिइएको उपप्रमुख गुरुङ्गले बताउनुभयो । उपप्रमुख गुरुङ्गले आन्तरिक आय १३ करोड ९ लाख, संघीय र प्रदेश राजश्व बाँडफाँडबाट प्राप्त हुने १३ करोड ७२ लाख, संघीय र प्रदेश सरकारबाट अन्तर सरकार वित्तिय हस्तान्तरण हुने १७ करोड ४१ लाख, आय हुने अनुमानित बजेट पेश गर्नु भएको हो । प्रस्तुत बजेटमा क्षेत्रगत रुपमा सामाजिक विकासतर्फ ५ करोड ९६ लाख, आर्थिक बिकास तर्फ ४ करोड ६० लाख, पुर्वाधारतर्फ १ करोड ४७ लाख, वाताबरण तथा बिपद् तर्फ १ करोड ७० लाख, सस्थागत बिकास तथा सेवा प्रवाह तर्फ २१ करोड १६ लाख, सामाजिक सुरक्षा तर्फ २२ करोड, १२ वटै वडागत योजनाका लागि ९ करोड ६० लाख बिनियोजन गरिएको छ ।
यस्तै नगरपालिकाले नीति तथा कार्यक्रमसँगै शिक्षातर्फ १ आधारभुत तह विद्यालयलाई नमुना बिद्यालयको रुपमा संचालन गर्ने, औचित्य र आवश्यकताका आधारमा बिद्यालय मर्ज र दरबन्दी मिलान गर्ने, संरक्षक नभएका अनाथ, अति बिपन्न बालबालिकाको माध्यमिक तहसम्मको सम्पुर्ण शैक्षिक दायित्व नगरपालिकाले गर्ने, सामुदायिक र सस्थागत बिद्यालय अनुगमन र सुपरिवेक्षणलाई प्रभावकारी बनाउने, देवदह आदर्श बहुमुखी क्याम्पसलाई अध्ययन अनुसन्धान केन्द्रको रुपमा बिकास गर्ने, देवदहबाट बिद्यावारिधी गर्नेको तथ्यांक संकलन गरि बिज्ञ समुह मार्फत शिक्षामा सुधार अभियान चलाउने उल्लेख छ ।
त्यस्तै खेलकुदका पुर्वाधारहरु तयार गर्ने, देवदह नगर अस्पतालको पुर्वाधार निर्माण गरि सेवा संचालन गर्ने, स्वास्थ्य चौकीहरुको स्तरउन्नति गर्ने लगायतका विषयलाई बजेट÷नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ । यस्तै नगरपालिकाले यसवर्ष महिला स्वास्थ्य स्वयं सेविका, सरसफाइकर्मी र ख बर्गका अपांगहरुको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको उल्लेख छ । देवदह नगरपालिका, सहकारी र निजि क्षेत्रसँगको सहकार्यमा शीतभण्डार संचालन गर्ने, देवदह कोसेलीघर संचालन गरि स्थानीय उत्पादनको बजारीकरण गर्ने, कृषि मिटरको बिधुत महसुलमा ५० प्रतिशत अनुदान दिने, कृषियन्त्र उपकरणमा अनुदान, खेतीयोग्य जमिनको माटो परिक्षण लगायतका विषय समावेश गरिएको छ ।
यस्तै नगरपालिकाले अव्यवस्थित भुमिहिन सुकुम्बासी समस्या समस्या समाधान गर्न उपलब्ध स्रोत साधन परिचालन गरि मुख्य प्राथमिकतामा काम गर्ने, निकास सहितको बिकास, उत्कृष्ट काम गर्ने उपभोक्ता समिति, ब्यवसायी र वडालाई सम्मान, छोटा सडकलाई इन्टर ब्लक लगाउने, देवदह नगर बिकास प्राधिकरण गठन गरि योजनाबद्द बिकास गर्ने, सम्पुर्ण योजनाहरु चैत सम्म सम्झौता गरि समयमै सप्पन्न गर्ने, पुर्वाधार बिकासको काममा गुणस्तर कायम गर्न नगरपालिकामा गुणस्तर प्रयोगशाला स्थापना गर्ने लगायतका योजनालाई नगरपालिकाले अगाडि सारेको हो । नगरको विपद् ब्यवस्थापनतर्फ आगलागी र बिपद् नियन्त्रणका लागि बारुण यन्त्र खरिद गर्ने, फोहोर मुक्त अभियान संचालन गर्ने, नगरपालिकाले नदिजन्य पदार्थ प्रसोधन केन्द्र संचालन गरि नदिजन्य पदार्थको ब्यवस्थापन, जनतालाई सहुलियत वितरण लगायतका विषयलाई बजेटमा समावेश गरिएको छ । सरसफाईतर्फ उत्कृष्ट काम गर्ने टोल बिकास संस्थालाई सम्मान गर्ने पनि उल्लेख छ ।
आगामी २ बर्षभित्र पुर्ण बालमैत्री नगरपालिका घोषणा गर्ने गर्ने गरि बजेटको तयारी गरिएको उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले बताउनुभयो । नगरका अन्य कार्यक्रम र योजनाहरुमा नगरपालिकामा हेल्थ डेस्क स्थापना गर्ने, गुनासो सुनुवाइका लागि हेल्लो मेयर कल सेन्टर स्थापना, अनलाइन कर सेवा स्थापना, विविध क्षेत्रका उत्कृष्ट करदातालाई सम्मान, उत्कृष्ट युवा उधमशिल सम्मान, उत्कृष्ट महिला उधम तथा उत्कृष्ट महिला समाजसेवी सम्मान गर्ने, लुम्बिनी बिकास कोष संग सहकार्य गरि लुम्बिनी आउने पर्यटकलाई देवदह भित्राउने पुर्वाधार तयार, प्रचारप्रसार गर्ने, देवदह प्रज्ञा प्रतिस्ठानको संचालन गर्ने लगायतलाई नीति कार्यक्रम र बजेटमा राखिएको छ । नगरको खानेपानी समस्या समाधान गर्ने योजनालाई पनि नीति तथा कार्यक्रम मार्फत नगरप्रमुख धुर्वप्रसाद खरेलले प्रस्तुत गर्नु भएको थियो ।
देवदहलाई सुन्दर र समृद्ध देवदह बनाउनका लागि नीति तथा कार्यक्रम र बजेटमा समावेश गरेका योजनाहरुलाई अक्षरस कार्यान्वयन गरि नमुना देवदह बनाउने कार्यदिशातर्फ नगर उन्मुख रहने नगरप्रमुख खरेलले बताउनुभयो । सबैको सहयोग र सहकार्यबाट देवदहलाई नमुना देवदह बनाउने अभियानमा आफुहरु लागेको नगरप्रमुख खरेको भनाई छ । प्रस्तुत नीति तथा कार्यक्रम संसोधन सहित, आयब्यय, आर्थिक तथा बिनियोजन बिधयक, शिक्षा ऐन संसोधन प्रस्ताव ११ औ नगर सभाबाट पारित भएको नगर प्रवक्ता गणेश डुम्रेले जानकारी दिनुभयो । यसैबीच यसअघि नगरपालिकाले नगरलाई विकासमा गतिशिल बनाउनका लागि विभिन्न समितिहरु गठन गरेको प्रवक्ता डुम्रेले बताउनुभयो । प्रवक्ता डुम्रेका अनुसार नगरपालिकामा सार्वजनिक सेवा तथा क्षमता बिकास समितिको संयोजकमा खेम बहादुर थापामगरलाई जिम्मेवारी दिईएको छ ।
यस्तै पुर्वाधार बिकास समिति संयोजकमा यकबहादुर सुनार, आर्थिक बिकास समिति संयोजकमा दिपक नेपाल, विधेयक समिति संयोजकमा कृष्णप्रसाद अधिकारी, बाताबरण तथा बिपद् ब्यवस्थापन समिति संयोजकमा गणेश डुम्रे, सामाजिक बिकास समिति संयोजकमा हरिप्रसाद पाण्डे लगायतलाई जिम्मेवारी दिईएको छ । अन्य विभिन्न समितिहरु गठन र कार्यविभाजनका गतिविधीहरु अगाडि बढाउने गरि योजनाहरु अगाडि बढाइएको नगरप्रवक्ता डुम्रेले जानकारी दिनुभयो ।