चन्द्रकोटको नीति तथा कार्यक्रम: शिक्षा, स्वास्थ्य, कृषि र उत्पादनमा जोड

गुल्मी। गुल्मीको चन्द्रकोट गाउँपालिका गुल्मीले आर्थिक वर्ष २०७९/०८० नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । असार ६ गते गाउँपालिकाको सभाहलमा अध्यक्ष युवराज केसीले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन । नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य कृषि र उत्पादनलाई जोड दिएको छ । गाउँपालिकामा परम्परागत र निर्वाहमूखी खेती प्रणालीलाई आधुनिक कृषि प्रणाली तर्फ उन्मूख गदै कृषि र उत्पादनमा मात्रात्मक र गुणात्मक वृद्धि गरी युवा जनशक्तिलाई कृषित तर्फ आकर्षित गर्न विदेशबाट फर्केकालाई व्यवसायिक कृषि तर्फ उन्मुख गराउने निती ल्याइएको छ ।
“कृषकको उत्पादन गाउँपालिकाको अनुदान कार्यक्रम”लाई समूह र सहकारी मार्फत सञ्चालन गर्ने व्यवस्था गर्ने नीति छ । स्थानीय तहको रोजगार सेवा केन्द्रमा सूचिकृत बेरोजगार व्यक्तिलाई न्यूनतम १ सय दिनको रोजगारी प्रत्याभूति गर्न कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना र युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना सञ्चालन गरी श्रममूलक योजनामार्फत समुदायको बिकाससँगै सामाजिक सुरक्षाको प्रत्याभूति गराइनेछ।

पर्यटन गुरुयोजना मार्फत पर्यटकीय स्थलहरुको पहिचान, प्रचार प्रसार सहज पहुँचको लागि पूर्वाधार विकास गर्दै जाने नीति लिईनेछ । “शैक्षिक गुणस्तर सुधारमा चन्द्रकोटको ध्यान, शिक्षाको विकासमार्फत समृद्धिको अभियान” भन्ने नाराका साथ स्थानीय आवश्यकताका आधारमा निर्माण गरीएको स्थानीय पाठ्यक्रम यसै शैक्षिक सत्र २०७९ देखि कार्यान्वयनमा ल्याइने भएको छ । साथै कक्षागत पाठ्यपुस्तक निर्माण गर्ने कार्यलाई अगाडि बढाउदै शैक्षिक गुणस्तर सुधारको लागि गाउँपालिकाको पञ्चवर्षीय गाउँ शिक्षा योजना निर्माण गरिन भएको छ । यस्तै निजी विद्यालयहरुमा समेत निः शुल्क Sanitary Pad को ब्यवस्था गर्ने उल्लेख गरिएको छ ।

यस्तै गाउँपालिकाले ५० प्रतिशत आर्थिक लगानीमा स्वास्थ्य बीमा कार्यक्रमलाई सञ्चालन गरी गाउँपालिका भित्रका विपन्न, असहाय, एकल, अपाङ्ग, दलित महिलाको स्वास्थ्य बीमा गर्ने नीति ल्याइएको छ । सुरक्षित मातृत्व कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडी बढाउन गर्भवती महिलाको स्वास्थ्य सुरक्षा तथा पोषणको लागि हरियो झण्डा र अण्डा कार्यक्रमलाई निरन्तरता दिँदै प्रत्येक स्वास्थ्य चौकी मार्फत २÷२ महिनामा गर्भवती महिलालाई निशुल्क भिडियो एक्सरे सेवा प्रदान गरिनेछ । स्वास्थ्य संस्थाको पहुँचदेखि टाढा रहेका नागरीकलाई मध्यनजर गरी सामुदायिक स्वास्थ्य इकाईहरु सञ्चालनलाई निरन्तरता दिइनेछ । वर्थिङ सेन्टरलाई व्यवस्थित गर्दै लगिनेछ ।

७० वर्षभन्दा माथिका जेष्ठ नागरीकहरुलाई प्रत्येक महिनामा सुगर, प्रेसर लगायत आधारभूत स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरीने छ । “स्वास्थ्य उपचार सहायता कोष“ स्थापना गरी आर्थिक रुपमा विपन्न, अनाथ, अशक्त, असहाय व्यक्तिको मृगौला रोग, मुटु रोग, क्यान्सर, प्यारालाइसिस लगायतका जटिल खालका रोगको स्वास्थ्य उपचारमा सहयोग गर्ने नीति लिइने छ। यस्तो कोषमा जुनसुकै व्यक्ति वा संस्थाले सहयोग गर्न सक्ने व्यवस्था मिलाइने छ ।

यस्तै सहकारीको माध्यमबाट रेडियो सञ्चालनको सम्भाव्यता अध्ययन गरिने, उज्यालो चन्द्रकोट गाउँपालिका घोषण गर्ने, सेवाको वरिपरि जनता होइन जनताको वरिपरि सेवा भन्ने अवधारणालाई आत्मसाथ गदै सेवा प्रवाह गर्ने, स्वास्थ्य, शिक्षा, रोजगारी, आर्यआर्जन, सिचाई, उर्जा, जलस्रोत लगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।

 
 
  
 

You may also like