बुधबार राति अमृता खत्री टण्डनको रहस्यमय मृत्युको विषयलाई तिलोत्तमा नगरपालिकाले विशेषरुपमा लिएको जनाउँदै संयमता अपनाउन आग्रह गरेको छ । नगरपालिका प्रवक्ता सुरेन्द्र श्रीले आज एक विज्ञप्ति जारी गर्दै अमृताको मृत्युले तिलोत्तमा नगरपालिकाका पदाधिकारी स्तब्ध भएको बताए ।
उक्त घटनाको निष्पक्ष र विश्वसनीयरुपले छानबिन गरी दोषीउपर कडाभन्दा कडा कारबाही गर्न तथा पीडित परिवारलाई न्याय दिलाउन प्रहरी प्रशासन समक्ष जोडदार माग गरेको विज्ञप्तिमा उल्लेख छ । घटनाका सम्बन्धमा गरिने अनुसन्धानलाई सघाउन नगरपालिका तयार रहेकाले संयमता अपनाउन र विरोध प्रदर्शनलाई शान्तिपूणर् बनाउन आग्रह गरिएको बताइएको छ ।
यही क्रममा शुक्रबार दिउँसो बुटवल इलाका प्रहरी कार्यालयबाट खटिएका प्रहरीहरूले प्रदर्शनकारीहरूमाथि लाठीचार्ज गरेको थियो । समाचार सङ्कलन गर्न गएका आधा दर्जन बढी पत्रकारहरूलाई समेत प्रहरीले हातपात गरेको छ । प्रहरीले ज्यादती गरेको भन्दै नेपाल पत्रकार महासङ्घ रुपन्देही लगायतका विभिन्न सङ्घ संस्थाले विज्ञप्ति निकालेर घटनाको निन्दा गरेका छन् । प्रहरीको कुटपिट गर्दा मृतक अमृताका काका छोरा दाजु कमल खत्री र काकी हुमकला खत्रीलगायत दर्जनौं घाइते भएका छन् ।