६ जना युवाहरुको लगानीमा स्टील उद्योग संचालन

by समतल अनलाइन

भैरहवा । युवाहरुको लगानीमा रुपन्देहीमा स्टील उद्योग खुलेको छ । जिल्लाको तिलोत्तमा नगरपालिका–६, नयाँमिलमा ६ जना युवाहरुले संयुक्त लगानी गरी लुम्बिनी युपीभीसी एण्ड स्टील इण्डष्ट्रिज प्रालि संचालनमा ल्याएका हुन् ।

करिब तीन करोड लगानी गरिएको उद्योगमा इटालियन प्रविधिमार्फत् स्टीलका झ्याल तथा ढोकाहरु बनाइनेसंचालक तथा प्रबन्ध निर्देशक प्रकाश कँडेलले जानकारी दिए ।

युपीभीसीका प्रयोगले घर तथा भवनहरु साउण्डप्रुफ, सफा गर्न झन्झट नहुने, वर्षौसम्म ढुक्क र आकर्षक देखिने, रंगरोगन गर्न नपर्ने, घामपानीमा केही नहुने तथा तातो चिसोले फरक नपर्ने, सी चलाउँदा समेत विजुली कम खपत हुने, आगो नटिप्ने, किरा–धमिरा नलाग्ने, बाङ्गो टेंगो नहुने उद्योगका अध्यक्ष मधुप्रकाश ज्ञवालीले बताए ।

उद्योगमा युपीभीसीका झ्याल, ढोका, पार्टेसन तथा स्टीलका रेलिङ बनाइने छ । यी सामाग्रीको ३० वर्षको वारेन्टी दिइने अध्यक्ष ज्ञवालीले जनाए । विदेशबाट काठ लिएर वा नेपाली वनजंगलको काठ लिएर घर बनाउनुभन्दा युपीभीसीको प्रयोग गरी झ्याल, ढोका बनाएमा टिकाउका साथै वातावरणी ह्रास पनि न्यून हुने उनले बताए । नेपाली बजारमा चलेको र विश्वविख्यात ब्राण्ड आफूहरुले यही उत्पादन गर्न सुरु गरेकाले धेरै ग्राहकहरुको रोजाईमा पर्ने प्रबन्ध निर्देशक कँडेलले बताए ।

उद्योगको शुभारम्भ गर्दै तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेले युवाहरु उत्पादनसँग जोडिनु मुलुक र नगरका लागि गौरवको विषय भएको जनाए । उनले तिलोत्तमामा गरिने हरेक लगानी सुरक्षित भएको बताउँदै लगानी सम्मेलनपछि धेरैको चासो र रोजाईमा नगर पर्न थालेको बताए ।

सानाठूला सबै किसिमका उद्योगहरुलाई नगरपालिकाले प्रोत्साहन गर्ने जनाउँदै घिमिरेले आवश्यक छुटको समेत व्यवस्था गरिएको जनाए । आल्मुनियम टिकाउ र दीर्घकालीन हुने जनाउँदै उनले काठभन्दा किनै सस्तो र भरपर्दो भएकाले यसको प्रयोग गर्न नगरबासीलाई आग्रह गरे ।

उद्योगका ज्ञवाली, कँडेलसहित युवा व्यवसायी प्रदीप खनाल, जनक भण्डारी, मनोज अर्याल, रेश्मीराज पाण्डेको लगानी रहेको छ । सस्तो, भरपर्दो र टिकाउ हुने भएकाले सबैले युपीभीसीका उत्पादन प्रयोग गर्न संचालकले आग्रह गरेका छन् ।

तिलोत्तमा क्षेत्रलगायत समग्र रुपन्देही र बाहिरी जिल्लाका नागरिकलाई सेवा दिने उद्देश्यले उद्योग खोलिएको संचालक अर्यालले बताए ।

 

 
 
  
 

You may also like