युक्रेन छाड्दै नेपाली : सय बढी पोल्याण्ड सीमामा, केहि स्लोभाकिया, हङ्गेरी र रोमानिया प्रवेश

by समतल अनलाइन

काठमाडौं । युक्रेनबाट नेपालीको धमाधम उद्धार चलिरहेको छ । जर्मनीस्थित नेपाली दूतावासका अनुसार २२५ जना नेपाली निरन्तर सम्पर्कमा छन् । उनीहरुमध्ये एक सय नेपाली पोल्याण्ड सीमामा पुगेका छन् ।

१५ जना भने पोल्यान्ड पुगिसकेका दूतावासले विज्ञप्ति निकालेर जानकारी दिएको छ । त्यस्तै २३ जना स्लोभाकियाको सीमा क्षेत्रमा आइपुगेका छन् भने तीन जना स्लोभाकिया पुगिसकेका छन् । त्यस्तै हङ्गेरीमा दुई जना, रोमानियामा एक जना र दुई जना रोमानिया पुग्न बाटोमा छन् ।

भोकभोकै सीमा क्षेत्रमा पुगेको त्यहाँ रहेका नेपालीको गुनासो छ । युक्रेनबाट नयाँ देश पुग्ने बित्तिकै सम्पर्क टुट्ने भएकाले स्लोभाकिया, पोल्याण्ड, रोमानियालगायतका देशमा पुगेका नेपालीलाई सहयोग जुटाउन भने समस्या परेको छ ।
जर्मनीमा रहेको नेपाली दूतावासले युक्रेन र वरिपरिका देशहरूमा रहेका नेपाली समुदाय तथा गैरनेपाली सङ्घसंस्थाहरू परिचालन गरेर सक्दो सहयोग गर्ने प्रयास भइरहेको समेत जनाएको छ । जर्मनीमा रहेको दूतावासले कागजात नभएका नेपालीलाई ट्राभल डकुमेन्ट बनाएर पठाउने गरेको छ ।

१९ जना नेपालीलाई हिजो यात्रा अनुमतिपत्र पनि उपलब्ध गराइएको विज्ञप्तिमा उल्लेख छ । पोल्याण्ड, हङ्गेरी, रोमानिया र स्लोभाकियालगायतका देशमा रहेका नेपाली समुदायसँग समन्वय गरी दूतावासले उद्धार कार्य थालेको छ । साथै दूतावासले छिमेकी देशहरूमा रहेका भारतीय दूतावाससँग पनि सहयोगका लागि पत्राचार गरेको राजदूत रामकाजी खड्काले जानकारी दिए ।
हेर्नुस् विज्ञप्ति

 
 
  
 

You may also like