७५ लाख पशुपंक्षीलाई खोप लगाइँदै

by समतल अनलाइन

काठमाडौं । पशुपंक्षीमा समय-समयमा एकै पटक देखिने प्रकोप नियन्त्रणका लागि देशैभर अभियान सञ्चालन गरिएको छ । निःशुल्क खोप प्रवाह कार्यक्रमका नाममा सुरु भएको अभियान हिउँद र बर्खामा देखिने विभिन्न प्रकृतिका सङ्क्रामक रोगविरुद्ध पशुपंक्षीमा प्रतिरोधात्मक क्षमता विकास गराउने उद्देश्यले सञ्चालन भइरहेको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गतको पशुसेवा विभागको प्रत्यक्ष निगरानीमा सबै प्रदेशका भेटेरिनरी अस्पतालको सहयोग, प्रदेश कार्यालयको समन्वय र स्थानीय तहको प्रत्यक्ष उपस्थितिमा एकै पटक खोप कार्यक्रम सुरु भएको हो । अभियानअन्तर्गत केही प्रदेशले धमाधम खोप लगाउँदै छन् भने केही फागुनको दोस्रो सातादेखि लगाउने तयारीमा छन् ।

स्थानीय तह र प्रदेश सरकारसँगको समन्वयमा पशुसेवा विभागले लगत सङ्कलन गरी एकै पटक मुलुकभर ७५ लाख पशुपंक्षीलाई खोप लगाउन सुरु गरेको हो । जोखिम धेरै देखिएका सुँगुर प्रजातिका जनावरमा लाग्ने रोगविरुद्ध सीएसएफ, कुखुरामा लाग्ने रानीखेत आईटु, गाईभैंसीमा लाग्ने भ्यागुते र चरचरे, भेडाबाख्रामा लाग्ने रोग तथा खुर फाटेका जनावरमा लाग्ने खोरेत रोगको प्रकोप रोक्न एकै पटक देशव्यापी रूपमा खोप अभियान सञ्चालन भइरहेको छ । गोरखापत्र दैनिकबाट

 

 
 
  
 

You may also like