काठमाडौं । पुस महिनामा कोरोना संक्रमण देखिएका नमुनामध्ये ७८ प्रतिशतमा डेल्टा भेरिएन्ट भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । प्रयोगशालाका अनुसार १६ सय नमुनामध्ये २ सय ५० वटामा एसजिन नेगेटिभ देखिएको छ ।
यी सबैमा ओमिक्रोन भेटिएको थियो। बाँकी नमुनामा डेल्टा भेरिएन्ट भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रुना झाले बताइन् । ‘जिन सिक्वेन्सिङमा नेगेटिभ देखिएका २२ प्रतिशतबाहेक सबैमा डेल्टा भेरिएन्ट भेटियो’, उनले भनिन् । थप जिन सिक्वेन्सिङको काम भइरहेको डा. झाले बताइन् ।
छिमेकी राष्ट्र भारत तथा विश्वका अन्य राष्ट्रमा ओमिक्रोन फैलिएसँगै नेपालमा पनि यो भेरिएन्ट फैलिएको आशंका गरिएको छ । तर यसबारे स्पष्ट हुन थप जिन सिक्वेन्सिङ गरेर हेर्न आवश्यक भएको कोभिड १९ उपचारमा संलग्न चिकित्सक बताउँछन् । ‘थप जानकारीका लागि नमुनाहरूको जिन सिक्वेन्सिङ गरेर हेर्नुपर्छ’, टिचिङ अस्पतालका वरिष्ठ फिजिसियन तथा कोभिड १९ संयोजक डा. निरज बमले भने ।
उनका अनुसार पुसको १५-१६ गते कोभिडको बिरामी भर्नादर शून्य रहेकोमा अहिले गत २४ घण्टामा करिब एक दर्जन बिरामी भर्ना भएका छन् । डेल्टा र ओमिक्रोन दुवैले खोप नलिएका र विशेष गरी वृद्धवृद्धामा निमोनिया बनाउन सक्ने डा. बमले बताए । वीर अस्पतालका फिजिसियन डा. ध्रुव गैरेले कोभिड संक्रमण भई आउने बिरामीमा सामान्य रुघाखोकी र ज्वरो देखिएको बताए । धेरैजसो बिरामी एक डोज मात्र भए पनि खोप लगाइसकेका भएकाले उनीहरूमा समस्या जटिल नबनेको उनको विश्लेषण छ ।
नेपालमा ओमिक्रोनसँगै डेल्टा भेरिएन्ट फैलिरहेको भए पनि धेरैजसोले खोप लिएको र कतिपयमा पहिल्यै संक्रमित भएर शरीरमा एन्टिबडी बनेकाले गम्भीर लक्षण नदेखिएको हुन सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान विभाग प्रमुख डा. शेरबहादुर पुनले बताए । ‘अस्पतालमा संक्रमित भएर आउनेहरूमा सामान्य रुघाखोखी र जिउ दुख्ने समस्या देखिन्छ । डेल्टा भएर पनि शरीरमा एन्टिबडीका कारण गम्भीर लक्षण नभएको हुन सक्छ’, उनले भने । थप जिन सिक्वेन्सिङको अध्ययनबाट मात्र तथ्य पत्ता लगाउन सकिने पुनले बताए ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. रवि शाक्यका अनुसार एक साता पहिलासम्म १० प्रतिशत संक्रमणदर रहेकोमा अहिले ४० प्रतिशत बढीमा संक्रमण पुष्टि भएको छ । ३५ जना अस्पतालमा भर्ना भएका छन् । तीमध्ये ५ जनाको आइसियुमा उपचार भइरहेको छ । नागरिक दैनिकबाट