काठमाडौं । नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टका संक्रमित बढ्न थालेका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै थप २४ जना व्यक्तिमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जनाएको छ ।
देशभरबाट संकलित नमूनाहरूको सिक्वेन्सिङ गर्दा थप २४ जनामा ओमिक्रोन पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पुस महिनामा संकलित जम्मा कोरोनाभाइरसका ११४६ पोजेटिभ नमुनाहरुको एस जिन स्क्रिनिङ गर्दा २५० वटामा नमुनाहरु एस जिन नेगेटिभ पत्ता लागेको छ । एस जिन नेगेटिभ पत्ता लागेकामध्ये २४ वटामा नमुनाहरुको जिन सिक्वेन्सिङ गर्दा सबै नमुनाहरुमा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको हो,’ मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपालमा पहिलोपटक २० मंसिरमा दुईजनामा ओमिक्रोन पुष्टि भएको थियो । उनीहरू ३ मंसिरमा दक्षिण अफ्रिकाबाट आएका थिए ।
मन्त्रालयले ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
विज्ञप्तिमा सीमामा परीक्षणलाई थप सशक्त बनाइएको र पोजेटिभ भएकाहरूलाई आइसोलेसनमा राख्ने व्यवस्था गरिएको जनाइएको छ ।
भारतमा ओमिक्रोन भेरियन्टका बिरामी बढ्दै जाँदा नेपालमा पनि यसको संख्या बढ्न थालेको छ । सीमा क्षेत्रमा कमजोर स्वास्थ्य सुरक्षाका कारण विगतमा जस्तै भारतमा बढ्दा नेपालमा पनि संक्रमितको संख्या बढ्न थालेको हो ।