काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि आज भएको निर्वाचनमा अहिलेसम्म ६०० मत खसेको छ । पार्टीको १४औं महाधिवेशन अन्र्तगतको मतदानमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेताहरुले मतदान गरिकेका छन् ।
निर्धारित समयभन्दा साढे ३ घण्टा ढिलो सुरु भएको मतदानमा अहिलेसम्म ६ सय मत खसेको निर्वाचन समितिले जनाएको छ। निर्वाचन समिति सदस्य तेज बहादुर रावलले अहिलेसम्म ६०० मत खसेको जानकारी दिए ।
मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा सभापतिका अर्का प्रत्यासी प्रकाशमान सिंह, उपसभापतिका उम्मेदवारद्वय विजयकुमार गच्छदार र सुजाता कोइराला, नेता डा रामशरण महत, सुनिलबहादुर थापा, गृहमन्त्री बालकृष्ण खाँण, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीलगायतले मतदान गरिसकेका छन् ।
अन्य नेता भने भोट हाल्न लामबद्ध भएका छन् । एकै पटक धेरैले मतदान गर्ने व्यवस्थाका लागि राष्ट्रियसभा गृहमा एक स्थानमा र भृकुटीमण्डपमा दुई स्थानमा व्यवस्था गरिएको छ । दिउँसो १ः३० बजेसम्म राष्ट्रियसभा गृहमा २०० र भृकुटीमण्डपका दुई स्थानमा १८० मत खसेको निर्वाचन समितिले जनाएको छ ।