भारतमा पनि भेटियो कोरोनाको नयाँ ‘ओमिक्राेन’ भेरियन्ट

by समतल अनलाइन

काठमाण्डौ । भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको छ । कर्नाटकमा दुई जनामा कोरोनाको नयाँ सङ्क्रमण ओमिक्रोन देखिएको त्यहाँका केन्द्रीय स्वास्थ्य मन्त्रालयका संयुक्त सचिव लव अग्रवालले जानकारी दिनुभएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

नयाँ भेरियन्टको सङ्क्रमण पुष्टि हुनेमा ६६ वर्ष र ४६ वर्षका व्यक्ति रहेका केन्द्रीय स्वास्थ्य मन्त्रालयका संयुक्त सचिव अग्रवालले बताउनुभयो ।

पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव अग्रवालले ओमिक्रोनबाट सङ्क्रमित भएकाहरूको सम्पर्कमा रहेकाहरूको समेत परीक्षण गराइएको जानकारी दिनुभयो । उनीहरू सबैलाई आइसोलेशनमा राखेर उच्च सतर्कता अपनाइएको पनि सहसचिव अग्रवालको भनाइ छ ।

उहाँले अन्य कोरोना भाइरसभन्दा ओमिक्रोन भाइरसको असर पाँच गुणा बढी हुने भएकाले पनि यसका बारेमा अझ बढी सतर्कता अपनाउनुपरेको स्पष्ट पार्नुभयो ।

सुरुमा बी.१.१.५२९ नाम दिइएको नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य सङ्गठनले २६ तारिखका दिन ‘ओमिक्रोन’ नामाकरण गरेको हो ।

यसलाई डब्ल्यूएचओले उच्च सतर्कता अपनाउनुपर्ने खतरापूर्ण भाइरस भनेपछि विश्वभरि नै सतर्कता बढाउन थालिएको थियो । त्यसको केही समयमै धेरै देशले उडान तथा नाका बन्द गर्दै सतर्कताका प्रक्रिया सुरु गरेका थिए । अहिले विश्वभरका दर्जनौँ देशले सतर्कतासम्बन्धी विभिन्न उपाय अपनाएका छन् ।

 
 
  
 

You may also like