भाइटीकाको उत्तम साइत बिहान ११:०२ बजे, कुन दिशा फर्केर लगाउने टीका ?

by समतल अनलाइन
Shares

काठमाडौं। तिहारको मुख्य दिन आज (शनिबार) भाइटीका मनाइँदैछ । यमपञ्चकको पाँचौं दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु र आरोग्यको कामना गर्दै परम्पराअनुसार पञ्च रङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई लगाउने गरिन्छ । आजको दिनलाई यम द्वितीया पनि भनिन्छ । भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभएपनि साइत खोज्नेका लागि बिहान ११ बजेर २ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यस वर्ष भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको आज पूजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनिएपछि शास्त्रीय मान्यता भने रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच वटा उल्लेख गरिएको समितिका अध्यक्ष पूर्व अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।

टीका लगाई दिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटी लगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार कपडा र दक्षिणा दिई सम्मान गर्ने परम्परा छ । भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रुपमा मनाउँछन् । तिहारको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीसहित विभिन्न दलका शिर्ष नेताहरुले शुभकामना व्यक्त गरेका छन् ।

यसैबीच काठमाडौंको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिर भाइटीकाका लागि खुलेको छ । बालगोपालेश्वर मन्दिरमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जम्मा भएर भाइटीका लगाउने गर्दछन् ।

भूकम्पले क्षति भएको मन्दिर पुनर्निर्माणको काम अघिल्लो वर्ष सकिएको थियो । यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवं पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा. गोविन्द टण्डनले जानकारी दिए ।

You may also like

This will close in 0 seconds