सुरक्षा निकायभित्र अब कसैलाई ‘तँ’ भन्न नपाइने

by समतल अनलाइन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले तीनै सुरक्षा निकायलाई संगठनमा बोलचालमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन दिएका छन् । गृहमन्त्री खाँडले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा जुनसुकै तहका कर्मचारीलाई बोलाउँदा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन दिएका हुन् ।

कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका एआइजीपी विश्वराज पोखरेल, गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव सुनिल खनाल सहभागी थिए ।

नेपाल प्रहरीका एआइजीपी विश्वराज पोखरेलले संगठनमा बोलचालमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न गृहमन्त्रीबाट निर्देशन भएको जानकारी दिए । उनले भने, ‘मन्त्री ज्यूबाट संगठनमा बोलचाल र निर्देशनमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन भएको छ, अब संगठनमा कसैले कसैलाई ‘तँ’ भन्न मिल्दैन । ‘सम्मानाथी’ शब्द प्रयोग गर्नुपर्छ ।’

संगठनको छवि राम्रो बनाउन संगठनभित्र एकले अर्कालाई सम्मान गर्नुपर्ने भन्दै सुरक्षा निकायले ‘सम्मानार्थी’ शब्दको प्रयोग गर्न लागेको हो । अब संगठनमा कसैले कसैलाई ‘तँ’ भन्न पाइने छैन । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले मुस्कानसहितको सेवा सञ्चालन गरिरहेका छन् ।

 

 
 
  
 

You may also like