आफ्नै आठ महिने शिशुको घाँटी रेटी हत्या गरेको आरोपमा आमा–बाबु पक्राउ

by समतल अनलाइन

बुटवल । आफ्नै आठ महिने शिशुलाई घरको छतमा लगेर घाँटी रेटी हत्या हत्या गरेको आरोपमा प्रहरीले रुपन्देहीको गैडहवाका एक दम्पतीलाई पक्राउ गरेको छ ।

गैडहवा–६ बस्ने श्रीराम मल्लाह र उनकी श्रीमती रेनुले आफ्नै घरको छतमा आठ महिने शिशुको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ । मल्लाह दम्पतीले यही भदौ २६ गते शिशुको हत्या गरेको स्वीकारेको र दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिएका छन् ।

हत्याको कारण यकिन नभए पनि जग्गासम्बन्धी विवादका कारणले परिवारमा दैनिक झगडा हुने गरेको र घटना सोही कारणले भएको भन्ने बुझिएको थापाले बताएका छन् । २६ गते बिहानपख करिब १ बजे शिशुको हत्या भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीबाट प्रहरी निरीक्षक रबिन्द्र महतसहितको टोली गैडहवामा गएको थियो ।

घटनास्थलको सुक्ष्म अवलोकन गर्ने क्रममा निजको घरको छतमा आलो रगत जमेको अवस्थामा भेटिएको र मल्लाह दम्पती सुत्ने कोठाको टेबुलमा रगत लागेको हँसिया भेटिएको प्रहरीले जनाएको छ । बिस्तारामा, विद्युतको स्वीचमा र रेनुले लगाएको सारीमा पनि रगत जस्तो रातो पदार्थ लागेको फेला परेको थियो ।

‘बरामद गरिएको प्राप्त प्रमाणको आधारमा सुक्ष्म रुपममा अनुसन्धान तथा सोधपुछ गर्दा मृतक आमा बुबाले हत्या घटना स्वीकार गरेको,’ प्रहरी नायव उपरीक्षक थापाले बताए । घटनामा संलग्न रहेका श्रीराम मल्लाह र उनकी श्रीमती रेनुलाई घटनास्थलबाटै सोही दिन प्रहरीले पक्राउ गरको थियो ।

 
 
  
 

You may also like