पानीमा भिज्दै विप्लवको सम्बोधन : अहिले हामीसँग बन्दुक खोइ भनेर नसोध्नु

by समतल अनलाइन

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कुनै हालतमा लागू हुन नदिने बताएका छन् ।

आज (सोमबार) काठमाडौंको खुलामञ्चमा आयोजित विरोध सभामा पानीले भिन्दै सम्बोधन गरेका विप्लवले पार्टी प्रतिबन्धमा रहेका बेला नै यो सम्झौता अध्ययन गरेको र लागू हुन नदिने बताएको सुनाए । उनले अघि भने, ‘यो सम्झौता नेपालको स्वाधीनता र सार्वभौमिकताको विरोधमा छ ।’

अमेरिकाले जुन देशबाट आफ्नो राष्ट्रिय सुरक्षामा चुनौती हुन्छ, त्यहीं एमसीसी लागू गर्ने गरेको उनले बताए । नेपालमा पनि लप्सीफेदीदेखि सुगौलीसम्म बनाइने विद्युतका टावरको सुरक्षा खतराका नाममा अमेरिकी फौज नेपाल आउने खतरा देखिएको विप्लवले बताए । उनले अघि भने, ‘आज त हामी एउटा सानो झिल्को बोकेर काठमाडौंमा उत्रिएका छौं । यदि एमसीसी जबरजस्ती पास गर्न खोजियो भने यो झिल्को राँको बन्छ ।’

‘हामीले लडेका हौं, राज्यसत्ताविरुद्ध लडेकै हौं । देशको सत्ता कति कमजोर थियो भन्ने हाम्रो लडाइँले पुष्टि गरेको थियो’, उनले भने, ‘भ्रष्टाचारीविरुद्ध लड्नुको सट्टा हाम्रो पार्टीमाथि प्रतिबन्ध लगाइयो, दमन गरियो । हामी मूल्य चुकाउन तयार छौं ।’

उनले आफूहरुले प्रतिबन्ध झेल्ने क्रममा १२ जना साथीहरु गुमाएको पनि उनले बताए । ‘१२ जना कमरेडहरूको रगत मिसाएर यहाँ आएका छौं । २५ सय योद्धाको बन्दी जीवन भोगेर आएका छौं । तीन हजार भन्दा धेरै मुद्दा खेपेर आउँदैछौं’, उनले थपे, ‘हामीले उतिबेलै प्रतिबन्ध गलत छ भनेका थियौँ । तपाईंहरुको प्रतिबन्ध ठीक थिएन । तर हामी नयाँ प्रक्रियामा आएर तीन बुँदे सहमति भयो ।’

उनले शान्ति वार्तामा आएपछि पनि शंका गरिएको बताए । ‘हामीलाई वार्तामा त आउनु भयो तर बन्दुक खोइ भनेर सोधियो’, उनले भने, ‘अहिले हामीसँग बन्दुकको कुरा नगर्नु । हामीसँग जनताको तागत छ । जनताको तागत बम र गोलीभन्दा बलियो हुन्छ ।’

 

 
 
  
 

You may also like