एमालेको आरोप : लोकप्रिय कार्यक्रम काटेर छापामार शैलीमा बजेट ल्याइयो

by समतल अनलाइन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सरकारले आफूहरूकमाथि बलमिच्याइँ गरेको निष्कर्ष निकालेको छ ।
आज (शनिबार) ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको पार्टीको स्थायी कमिटी बैठकले एमालेको विरोधका बावजुद प्रतिस्थापन विधेयक ल्याउने काम अशोभनीय भएको र नेकपा (एमाले) लाई बलमिच्याइँ गरेको निष्कर्ष निकाले सचिव योगेश भट्टराईले जानकारी दिए ।

उनले आफ्नो सरकारले ल्याएको लोकप्रिय बजेटको कटौती गरेर हचुवाको भरमा कार्यक्रम थपेको पनि आरोप लगाए । ‘एमाले सरकारले ल्याएको लोकप्रिय बजेट कटौती गरेर छापामार शैलीमा बजेट ल्याइएको छ,’ उनले भने, ‘हचुवाको भरमा कार्यक्रम थप गरिएको छ, सरसल्लाह पनि भएको छैन ।’

सचिव भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले नेकपा (एमाले) पार्टी विभाजनको लागि खेलेको भूमिका र निष्पक्षतामाथि टिप्पणी रहेको बताए । उनले सभामुखले संसदलाई निष्पक्षतामा नलगी सत्तापक्षको प्रतिनिधि भएर काम गरेको आरोप लगाए ।

अहिले सडकमा विभिन्न विषयवस्तुमा भइरहेको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले अनावश्यक धरपकड गरी, जनतालाई दुःख दिएकोमा स्थिति उत्तेजित नबनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय पनि बैठकले गरेको सचिव भट्टराईले बताए ।

 
 
  
 

You may also like