काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठकले हुम्लामा नेपाल–चीन सीमानामा विवाद नहुँदा पनि सरकारले समिति गठन गरेको निष्कर्ष निकालेको छ ।
आज (बुधबार) सिहंदरबारमा बसेको संसदीय दलको बैठकले चीनसँग सीमा विवाद केही नहुँदा पनि सरकारले समिति गठन गरेको निष्कर्ष निकालेको नेता देव गुरुङले जानकारी दिए । ‘हुम्लामा चीनसँग सीमा समस्या छैन । समस्या नहुँदा नहुँदै सरकारले अध्ययन समिति गठन गरेको छ’, उनले भने । बैठकमा प्रचण्डले सदनमा सशक्त भूमिका निर्वाह गर्न निर्देशन दिएका थिए ।
‘गठबन्धनमा सहमति नभई एमसीसी बढाइनु हुन्न’
नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठकले गठबन्धनमा सहमति नभई एमसीसीलाई अघि बढाउन नहुने निष्कर्ष निकालेको छ । बैठकले एमसीसीका बारेमा विभिन्न चर्चा परिचर्चा भइरहेको भन्दै यसलाई गठबन्धनमा सहमति नभई अघि बढाउन नहुने निष्कर्ष निकालेको माओवादी संसदीय दलको मुख्य सचेतक देव गुरुङले जानकारी दिए ।
राष्ट्रिय सहमति गर्नुपर्ने मुद्दा भएकाले यथास्थितिमा एमसीसी पारित हुन नसक्ने पार्टी अध्यक्ष प्रचण्डले बैठकमा बताएको उनले बताए ।
त्यस्तै बैठकले कूटनीतिक क्षेत्रको विरोध गर्न नपाउने विषयमा सरकार संयम हुनुपर्ने र शान्तिपूर्ण रूपमा विरोध गर्न पाउने अधिकारलाई कुण्ठित गर्न नहुने निष्कर्ष निकालेको छ । त्यस्तै दार्चुला घटनामा सरकारले गरेको पहल र प्रयास अपुग रहेको ठहर रहेको गुरुङले बताए ।