नेपालले आज पपुवा न्युगिनीसँग पहिलोपल्ट एक दिवसीय क्रिकेट खेल्दै

by समतल अनलाइन

काठमाडौं । ओमानमा अभ्यास गरिरहेको नेपालको राष्ट्रिय क्रिकेट टोलीले आज (मंगलबार) पहिलोपल्ट पपुवा न्युगिनीसँग मैत्रिपूर्ण खेल खेल्दैछ । आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन– २ अन्तर्गत त्रिकोणीय श्रृखलाको तयारीका लागि ओमान पुगेको नेपाली टोलीले आज पिएनजीसँग एक दिवसीय खेल खेल्न लागेको हो ।

दोस्रो अभ्यास खेल शुक्रवार हुनेछ । ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान सवा ११ बजे शुरु हुने खेलमा दुवै टोली जितको खोजीमा हुनेछन् । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको १९ सदस्यीय नेपाली टोलीमा यसपटक अनुभवी खेलाडी तथा पूर्व कप्तान पारस खड्का छैनन् ।

पारसले गत महिना अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका हुन् । नेपाली टोलीमा पहिलो पटक युवा खेलाडी गुल्शन झा समावेश छन् । नेपाल पुलिस क्लबबाट घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका तीव्र गतिका बलर गुल्शन मुख्य प्रशिक्षक डेभ वाटमोरको नजरमा परेका थिए ।

नेपालले पिएनजीविरुद्धका दुई अभ्यास खेलपछि ओमान र अमेरिकासँग त्रिकोणात्मक श्रृंखला खेल्ने छ । श्रृंखला सेप्टेम्बर १३ बाट २० सम्म चल्ने छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिइसकेका डेभ वाटमोरको नेतृत्वमा नेपालको यो अन्तिम श्रृंखला हुनेछ ।

 

 
 
  
 

You may also like