देशभर बदली, शनिबार साँझसम्म बर्षाको सम्भावना

by समतल अनलाइन

काठमाडौं। हाल (मंगलबार बिहान) देशभर मौसम सामान्यदेखि पूर्णसम्म बदली भएको छ भने प्रदेश–१, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशमा उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहनुका साथै देशको पश्चिमी तराई नजिक मनसुनको न्यून चापीय रेखा रहेको छ । केही दिनदेखिको झरी शनिबार साँझसम्म परिरहने भएको छ । आइतबार बिहानबाट मौसम केही खुल्ने वरिष्ठ मौसमविद् निराजन सापकोटा बताउँछन् ।

‘विहान पानी पर्ने दिउँसो केहीबेर रोकिने र पुनः पर्ने तथा अपराह्न ४-५ बजेदेखि कम हुने क्रम जारी रहने छ’, मौसमविद् सापकोटा भन्छन्, ‘यो क्रम शनिबार साँझसम्म नै रहन्छ । आइतबारबाट मात्रै मौसम खुल्ने देखिन्छ ।’ सापकोटाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार प्रदेश–१, वागमती तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

काठमाडौंमा पनि आज दिउँसो पानी पर्ने र रोकिने क्रम चलिरहने उनको भनाइ छ । आज राति देशभर सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका धेरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन उनको अनुरोध छ । ‘केही दिनदेखिको झरीका कारण गलेको जमिन सामान्य पानी पर्दा पनि पहिरो जाने र गेग्रान बग्ने सम्भावना भएकाले अझै केही दिन सतर्क हरनु पर्नेछ’, उनी भन्छन्, ‘माटो भिझिसकेकाले सानो पानी पर्दा पनि बाढी आउने भएकाले नदी तटीय क्षेत्रमा बस्नेहरुले सतर्क हुनुपर्छ ।’

 
 
  
 

You may also like