पत्रकार महासंघ रुपन्देहीले थाल्यो विकेन्द्रीकरण बैठक

by समतल अनलाइन

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले आफ्नो नियमित बैठक कार्यालयमा मात्रै सिमित नराखी जिल्लाका विभिन्न स्थानमा बस्न थालेको छ । मंगलबार भैरहवा स्थित मोर्य होटलमा नियमित बैठक बसेर यसअघि महासंघको बुटवल स्थित कार्यालयमा मात्रै बस्ने बैठकलाई विकेन्द्रीकरण गर्न थालेको हो ।

बैठकले कोभिड १९ ले सञ्चारगृह र पत्रकारलाई पारेको असरबारे अध्ययन गर्ने निर्णय गरेको छ । अध्यक्ष रामराज पोख्रेलको अध्यक्षतामा बसेको बैठकले बार्षिक कार्यक्रम कार्ययोजना बनाएको छ । कोभिडले पारेको प्रभावलाई मध्यनजगर गरि स्थानीय तह, उद्योगी व्यवसायी तथा सञ्चारगृह र पत्रकारहरुसँग अन्तरक्रिया, पत्रकार क्षमता अभिबृद्धिका लागि विधागत तालिम, ई–बुलेटिन प्रकाशन, भौतीक संरचना विकास तथा अन्य रचनात्मक कार्यक्रम गर्ने गरि बार्षिक कार्ययोजना बैठकले पारित गरेको सचिव विनोद परियारले बताए ।

यसैगरि लैंगिक तथा समावेशि उपसमितिले तीजको अवसरमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ । बैठकले कोरोना महामारीको जोखिमसँगै बाढी पहिरो जस्ता विपदले पत्रकारहरु प्रभावित भएकाले सुरक्षित हुन अपिल गरेको छ ।

महासंघद्धारा भैरहवाका पत्रकारसँग अन्तरक्रिया

नेपाल पत्रकार महासंघ रुपन्देहीले भैरहवा क्षेत्रका पत्रकारहरुसँग कोरोना महामारीले पत्रकारितामा पारेको असर र महासंघले गर्नुपर्ने भूमिकाका सन्दर्भमा सुझाव संकलन कार्यक्रम गरेको छ । नियमित बैठकका शिलशिलामा भैरहवा पुगेको बेला महासंघले भैरहवा, लुम्बिनी, मर्चवार र धकधई क्षेत्रमा क्रियाशिल पत्रकारहरुसँग छलफल तथा भेटघाट कार्यक्रम गरेको हो ।

उक्त अवसरमा अग्रज पत्रकार नारायण सापकोटाले पत्रकार महासंघको बर्तमान नेतृत्वले सबैपक्षसँग रायसुझाव लिएर अघि बढ्न खोजेको भन्दै यो सक्रियता कार्यकाल अवधिभर कायम राख्न सुझाव दिए । उनले पत्रकार महासंघले पेशागत हकहितसँगै पत्रकारिताको गरिमा बढाउने काममा लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा अर्का अग्रज पत्रकार चेतन पन्तले अब प्रविधिको युग भएकाले त्यसलाई मध्यनजर गरि पत्रकारहरुको क्षमता अभिबृद्धि गर्नुपर्नेमा जोड दिए ।

उक्त अवसरमा नेपाल पत्रकार महासंघ लुुम्बिनीका सदस्य रामविकास चौधरी, विन्दुकुमार चौहान, लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसी, प्रेस संगठन रुपन्देहीका अध्यक्ष कमल रायमाझी, नेपाल प्रेस यूनियन रुपन्देहीका उपसभापती दीपक घिमिरे, कान्तिपुर दैनिक लुम्बिनी प्रमुख दीपेन्द्र बडुवाल, पत्रकारहरु सम्झना शर्मा, विजय पाण्डे लगायतले बोल्दै महासंघले भैरहवामा बैठक गरेर महासंघले आफूलाई साझा चरित्रका रुपमा उभ्याएको बताए । महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले पत्रकार महासंघले सबै रायसुझावका आधारमा बार्षिक कार्ययोजना बनाएको बताउँदै भेगिय, क्षेत्रिय र आस्थाका आधारमा विभाजित नहुने प्रतिबद्धता जनाए । उक्त अन्तरक्रियाका पत्रकार महासंघका पदाधिकारी, सदस्यहरुको सहभागिता रहेको थियो ।

 
 
  
 

You may also like