काबुल । अफगानिस्तानको राजधानी काबुलबाट करिब ३० माइल दूरीमा रहेको एउटा विकट उपत्यका छ, जहाँ तालिबानसँग लड्न हजारौं लडाकु तयार भइरहेको खबर आइरहेको छ । त्यसको नाम हो– पन्जसिर ।
तालिबानले अफगानिस्तानका अन्य सबै प्रान्त मात्र होइन, केन्द्रीय राजधानी काबुल कब्जा गरिसक्दा पनि पन्जसिर मात्र एउटा त्यस्तो प्रान्त हो, जसलाई तालिबानले अहिलेसम्म आफ्नो नियन्त्रणमा लिन सकेको छैन । यस्तो नाटकीय र प्रभावशाली रूपमा पन्जसिर सत्तिसाल जसरी स्वतन्त्र रूपमा उभिन सकेको अफगानिस्तानको अशान्त इतिहासमा पहिलो पटक भने होइन । सन् १९८० को दशकमा सोभियत सेना र ९० को दशकमा तालिबानविरोधीको बलियो गढ बनेको ठाउँ हो यो ।
त्यहाँस्थित नेसनल रेजिस्टेन्स फ्रन्ट अफ अफगानिस्तान (एनआरएफ) ले विश्वलाई यस उपत्यकाको शक्ति पुनः एक पटक स्मरण गराएको छ । एनआरएफका विदेशी मामिला प्रमुख अली नजारीले बीबीसीसँग भने, ‘शत्तिशाली हुँदाहुँदै पनि रुसका लाल सेनाले हामीलाई हराउन सकेनन् र २५ वर्ष पहिले तालिबानले पनि । उनीहरू सबैले उपत्यका कब्जा गर्न कोशिस गरे, तर असफल भए । उनीहरू यहाँ पराजित भए ।’
यस्तो छ पन्जसिरको भूगोल
लामो, गहिरो र धुलोले ढाकिएको यो उपत्यका राजधानी काबुलको उत्तरतर्फ दक्षिण–पश्चिमदेखि उत्तर–पूर्वसम्म करिब ७५ माइल (१२० किलोमिटर) फैलिएको छ । यसका चारैतिर झण्डै ९ हजार ८ सय फिट (३ हजार मिटर) अग्ला पहाड छन् । यही पहाड स्थानीय बासिन्दाका लागि प्राकृतिक सुरक्षा ढाल बनेका छन् ।
यस उपत्यकामा केवल एउटा साँघुरो सडक छ, जुन ठूलठूला चट्टान र घुमाउरो पन्जसिर नदी हुँदै निस्किएको छ । तालिबानले कब्जा गर्नुअघिसम्म अफगानिस्तानमा रहेका शाकिब शरिफीको बाल्यपन पन्जसिर उपत्यकामै बितेको थियो । उनी भन्छन्, ‘यस क्षेत्रको एक पौराणिक कथा छ । यो उपत्यका मात्र होइन । तपाईं उपत्यका प्रवेश गर्नु भयो भने यहाँ कम्तीमा २१ वटा उप–उपत्यका आपसमा जोडिएर रहेको पाउनु हुनेछ ।’
मुख्य उपत्यकाको अर्काे छेउमा ४ हजार ४३० मिटर (१४, ५३४ फिट) लामो बाटो छ, जुन अन्जुमन दर्रेसम्म पुग्छ । त्यो अगाडि पूर्वतर्फ हिन्दुकुश पहाडसम्म पुग्छ । सिकन्दर महान् र टिमुर्लाङ दुवैका सेना, यही बाटो भएर जान्थे ।
लिड्स युनिभर्सिटीमा अन्तर्राष्ट्रिय इतिहासका एशोसिएट प्रोफेसर एलिजाबेथ लिक भन्छिन्, ‘इतिहासमा पन्जसिर उपत्यकाका अर्ध–बहुमूल्य रत्नका लागि पनि परिचित थियो ।’ अहिले पन्जसिर उपत्यकामा जलविद्युतको बाँध र एउटा पवन फार्म पनि छन् । अमेरिकाले यहाँ सडकका साथै काबुलको सिग्नल तान्न सक्ने एउटा रेडियो टावर निर्माण गर्न सहयोग गरेको थियो । बगरामदेखि पूर्व उपत्यकाको मुखबाट केही टाढा अमेरिकी एयरबेस जुन सोभियत रुसले सन् १९५० को दशकमा बनाएको थियो, छ ।
पन्जसिरका बहादुर लडाकु
पन्जसिर उपत्यकामा डेढदेखि लाख जनासम्म मानिस बस्छन् । यहाँका अधिकतर बासिन्दा ‘दारी’ भाषा बोल्छन् । ताजिक मूलको यो भाषा अफगानिस्तानका प्रमुख भाषामध्ये एक हो । अफगानिस्तानको ३ करोड ८ लाख जनसंख्यामध्ये झण्डै एक चौथाइ ताजिकले ओगटेका छन् । तर पन्जसिर अफगानिस्तानको उत्तरी छिमेकीमध्ये एक ताजिकिस्तान जस्तो देखिँदैन, यसको आफ्नै स्थानीय पहिचान छ ।
केही दिन अघिसम्म अफगान कृषि मन्त्रालयमा योजना महानिर्देशक रहेका शाकिब शरिफी पन्जसिरवासीलाई बहादुर मान्छन् । उनी भन्छन्, ‘सायद अफगानिस्तानमै सबैभन्दा बहादुर मानिस हुन् ।’
उनका भनाइमा स्थानीय बासिन्दा तालिबानका लागि असहज छन् र उनीहरूमा ‘एक सकारात्मक आक्रामकता’ छ । बेलायत, सोभियत संघ र तालिबानविरुद्ध हासिल ऐतिहासिक जितले यहाँका बासिन्दामा अझ हौसला थपेको छ ।
प्रान्तको दर्जा
सन् २००२ मा तालिबानको हारपछि पन्जसिर उपत्यकालाई एउटा जिल्लाको मान्यताबाट बढाएर प्रान्तको दर्जा दिइएको हो । यो अफगानिस्तानकै सबैभन्दा सानो प्रान्त हो । रोयल युनाइटेड सर्भिसेज इन्स्टिच्युट (आउयूएसआई) का एक सिनियर फेलो डाक्टर एन्टोनियो गिउस्टोजी भन्छन्, ‘यसलाई प्रान्त बनाउने निर्णय विवादास्पद थियो ।’
उनका भनाइमा सन् २००० को दसकको शुरुमा पन्जसिर लडाकुसँग निकै शक्ति थियो । उनीहरूले काबुल कब्जा गर्न सहयोग गरेका थिए । पन्जसिरका नेताहरूलाई सरकार र सेनामा प्रमुख स्थान दिइयो । उपत्यकालाई स्वायत्तता प्रदान गरियो । यो अफगानिस्तानको एउटा मात्र त्यस्तो प्रान्त थियो, जहाँ त्यहींका मानिसलाई गभर्नर बनाइएको थियो, तर अन्य प्रान्तमा स्थानीयलाई गभर्नर बनाउन सकिन्थेन ।
डाक्टर गिउस्टोजी भन्छन्, ‘सामान्यतया गभर्नर स्थानीय बासिन्दाप्रति भन्दा सरकारप्रति बढी वफादार हुने अपेक्षा गरिन्छ । तर पन्जसिरको कुरा बेग्लै थियो ।’
रणनीतिक रूपमा महत्वपूर्ण क्षेत्र
डाक्टर गिउस्टोजीका अनुसार अफगानिस्तानमा सम्भवतः सयौं यस्ता उपत्यका छन्, जुन काबुलबाट उत्तर जाने मुख्य सडकका नजिक पर्छन् । जसका कारण यी उपत्यका रणनीतिक हिसाबले निकै महत्वपूर्ण छन् । यस उपत्यकाको प्रवेशद्वार त्यो स्थानबाट टाढा छैन, जहाँ काबुलबाट आउने प्रमुख राजमार्ग समतल भू–भाग छाडेर पहाड हुँदै सालाङ दर्रेतिर जान्छ । सालाङ दर्रा, उत्तरी शहर कुन्दुज र मजार ए शरिफ जाने एक सुरुङ छ । शरिफीका अनुसार पन्जसिर धेरै शक्तिको संयोजनका कारण महत्पूर्ण बनेको छ ।
उनका अनुसार ‘यसको महत्व टाढैबाट युद्ध गर्न सकिने दर्जनौं स्थान र पहाडी क्षेत्रका भएको वा पन्जसिरवासीको अभिमानका कारणले मात्र भएको होइन । बरु यसको महत्व ती सबै कारणको संयोजनले भएको हो, खोजी गर्ने हो भने अफगानिस्तानका धेरै स्थानमा पाइने तत्व यो एउटै ठाउँमा भेटिन्छन् ।’
वर्तमान गतिरोधको अवस्थामा यस उपत्यकामा हतियारको ठूलो भण्डार रहेको विश्वास गरिन्छ । २० वर्षअघि तालिबान सत्ताबाट हटेपछि यहाँका लडाकुले संगठन भंग गरेका थिए र आफ्ना हतियार पनि सरकारलाई बुझाएका थिए । डाक्टर गिउस्टोजी भन्छन्, ‘तर त्यहाँ हतियारको भण्डार अहिले पनि छ ।’
उनी अगाडि भन्छन्, ‘पन्जसिरसँग सम्बन्ध राख्ने अफगान अधिकारीले त्यहाँ हतियार पठाइरहेका थिए, किनकी उनीहरू राष्ट्रपति कारजाई र गनीका लागि सतर्क थिए । तर अन्तमा उनीहरू तालिबानका कारण चिन्तित हुन बाध्य भए ।’ पन्जसिर उपत्यकामा तालिबानविरोधी बलको नेतृत्व गर्ने व्यक्ति हुन्– ३२ वर्षीय अहमद मसुद । उनी सन् १९८० र ९० को दसकमा सम्मानित विद्रोही नेता अहमद शाह मसुदका छोरा हुन् ।
मसुदको दाबी छ–आफ्ना लडाकुलाई अफगान सेना र विशेष बलका सदस्यबाट सैन्य समर्थन प्राप्त छ । वासिङ्टन पोस्टमा हालै उनले लेखेको आलेखमा भनिएको छ, ‘हामीसँग गोला बारुद र हतियारको भण्डार छ, जुन हतियार हामीले हाम्रो बुवाका पालादेखि धैर्यतापूर्वक संकलन गरेका हौं । हामीलाई थाहा थियो– यस्तो परिस्थिति कुनै पनि बेला आउन सक्छ ।’
अहमद मसुदका बुबा अहमद शाह मसुद
अहमद मसुदका बुबा अहमद शाह मसुदलाई ‘पन्जसिरको शेर’ उपनामले बोलाइन्थ्यो । उनी एक मुजाहिदिन कमाण्डर थिए, जसले सोभियत रुस र तालिबान दुवैका सेनालाई पन्जसिर कब्जा गर्नबाट रोकेका थिए । यस्तै पन्जसिरको अर्थ हुन्छ–‘पाँच शेर’ ।
अफगान सेनाका एक जनरलका छोरा अहमद शाह मसुदको जन्म पन्जसिर उपत्यकामै भएको थियो । पन्जसिर र काबुलका स्मारकदेखि होर्डिङ बोर्ड एवं पसलका झ्यालसम्म उनका तस्बिर अहिले पनि देख्न पाइन्छ । सन् १९७८ मा पिपुल्स डेमोक्रेटिक पार्टी अफ अफगानिस्तान (पीडीपीए) सत्तामा आयो र त्यसको एक वर्षपछि सोभियत रुसका सेनाको प्रवेशसँगै पन्जसिर उपत्यका कम्युनिस्टविरोधी केन्द्र बन्यो ।
लिड्स विश्वविद्यालयकी प्रोफेसर एलिजाबेथ लिक भन्छिन्, ‘उनी सोभियत–अफगान युद्धमा प्रतिरोधको सार्वजनिक अनुहार बनेका थिए । उनीसँग आकर्षक व्यक्तित्व थियो र उनी पश्चिमी मिडियासँग सक्रियतापूर्वक जोडिएका थिए । उनी त्यस्ता मुख्य नेतामध्ये एक थिए, जोसँग सोभियत संघसँग वार्ता गर्न तयार थियो । यिनै कुराले उनलाई यति महत्वपूर्ण बनाएको हो ।’
डाक्टर डिउस्टोजीका अनुसार अहमद शाह मसुद त्यसबेलाका अन्य सबै नेताभन्दा फरक थिए । उनी भन्छन्, ‘उनी शिक्षित, फ्रेन्च बोल्न सक्षम, नम्र बोली र आकर्षक व्यक्तित्वका धनी थिए । यस विपरीत अन्य कमाण्डर असभ्य, अनपढ र रुष्ट स्वभावका मानिन्थे ।
सन् २००१ मा ९÷११ को घटनाको ठीक २ दिनअघि अर्थात् सेप्टेम्बर ९ का दिन अलकायदाका आतंककारीले उनको हत्या गरे । त्यसपछि राष्ट्रपति हामिद कारजाईले उनलाई राष्ट्रिय नायक घोषणा गरेका थिए । तर कतिपय अहमद शाह मसुदलाई एक युद्ध अपराधी मान्छन् । सन् २००५ को ह्युमन राइट्स वाचको अनुसन्धानअनुसार ‘अफगानिस्तानमा युद्धका क्रममा उनको नेतृत्वको सैन्य बलविरुद्ध मानव अधिकार हननका धरै आरोप लागेका थिए ।’
अजेय उपत्यका
सन् १९८० र १९८५ का बीच सोभियत संघले स्थल र हवाई गरी पन्जसिर उपत्यकामा कम्तीमा आधा दर्जन पटक आक्रमण गरेको थियो । रुसी लडाकुलाई यस क्षेत्रको अनुभव कम थियो र उनीहरू अक्सर एम्बुस हमलामा फसे । शरिफीका अनुसार सोभियत संघले दायाँ, बाया र मध्यबाट ‘हजारौं चोट’ पाएको थियो । सोभियत रुसको मेसिनगनको नाममा ‘मिस्टर डीएचएसके’ का रूपमा एक जना प्रसिद्ध व्यक्ति थिए । उनीहरू चट्टानको पछाडि लुकेर उनलाई गोली हान्थे, तर उसलाई कहिले भेटेनन्, जसले उनीहरूलाई ‘पागल’ बनाएको थियो ।
डाक्टर गिउस्टोजीका भनाइमा सोभियत संघले केही समयका लागि उपत्यकामा एउटा गढलाई सुरक्षित बनाएको थियो । तर त्यसलाई लामो समय कायम राख्न सकेनन् । उनी भन्छन्, ‘रुसी बस्ने र सेना राख्ने स्थान पाउन सकेनन् । उनीहरू उत्तर–दक्षिण राजमार्ग कब्जा गर्न चाहन्थे, तर आसपासका अन्य क्षेत्रमा लडाइँ शुरु भयो ।’ पन्जसिर उपत्यकामा युद्धका लागि हतियार, ट्यांक र विमान त्यहीँ छाडिएका थिए । जुन सोभियत संघको असफल सैन्य अभियानका विरासत हुन् ।
अहमद मसुद
अहमद मसुद मात्र १२ वर्षको हुँदा उनको बुवाको मृत्यु भएका थियो । लण्डनमा अध्ययन गरेका उनले स्यान्डहस्र्टमा रोेयल मिलिट्री एकेडेमीमा एक वर्ष प्रशिक्षण पनि लिएका छन् । डाक्टर गिउस्टोजीका अनुसार ‘उनमा आफ्ना बुबाको आकर्षण छ । तर एक सैन्य कमाण्डरका रूपमा अझै उनको परीक्षा भइसकेको छैन ।’
उनी भन्छन्, ‘उनमा राष्ट्रिय तहमा हुने कुनै पनि सत्ता साझेदारीको प्रस्तावबारे कुरा गर्ने कौशलको पनि आवश्यकता पर्छ । तर उनले गुमाउनु पर्ने धेरै कुरा छैन । हुनसक्छ– उनले वार्तामा धेरै कुरा माग गर्लान् ।’ उनी अगाडि भन्छन्, ‘उनी स्पष्ट रूपमा आफ्नो विरासत र आफ्ना पिताको ऐतिहासिक महत्वका सम्बन्धमा निकै सजग छन् ।’ तर यस पटक अवस्था फरक छ, तालिबानले ठूला शहर कब्जा गरेको छ, आपूर्ति अवरुद्ध पारेको छ, यसले गर्दा सन्तुलन बदलिन सक्ने उनको अनुमान छ । अहमद मसुदले आफैंले सहयोगको आवश्यकता महसुस गरेका छन् ।
उनले वासिङ्टन पोस्टमा प्रकाशित आफ्नो आलेखमा भनेका छन्, ‘यदि तालिबानका नेताले हमला गरे भने उनीहरूले निश्चित रूपमा हाम्रो कडा प्रतिरोध सामना गर्नुपर्ने हुन्छ…तैपनि हामीलाई थाहा छ– हामीसँग पर्याप्त सैन्य बल र स्रोत÷साधन पर्याप्त हुँदैनन् ।’ उनले अगाडि लेखेका छन्, ‘हाम्रो स्रोत तीव्र गतिमा सकिने छन्, जबसम्म हाम्रा पश्चिमी मित्रले ढिला नगरी हामीलाई आपूर्तिका लागि बाटो खोज्दैनन् ।’ बीबीसीबाट भावानुवाद