कोरोनाबाट श्रीमान–श्रीमतीको एकै दिन मृत्यु

इलाम। कोरोना संक्रमणका कारण इलाममा एकै दिन श्रीमान–श्रीमतीको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र उनकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको मृत्यु भएको हो ।

श्रीमान् टेकबहादुरको बिहीबार बिहान र श्रीमती लक्षीहाङमाको दिउँसो साढे ३ बजे मृत्यु भएको हो । लावती परिवारका सात जनामा कोरोना संक्रमण पुष्टि भएकामा दुई जनाको मृत्यु भएको हो । एकै परिवारका दुईको मृत्यु भएसँगै गाउँमा निकै त्रास फैलिएको छ । स्थानीय रेडियो माङ्सेबुङका स्टेसन म्यानेजर रहेका छोरा सुमन लावती समेत भाइरस संक्रमणका कारण होम आइसोलेसनमा छन् ।

६ दिनअघि उनीहरुलाई संक्रमण पुष्टि भएको थियो । संक्रमित सबै होम आइसोलेसनमा थिए । मृतक दम्पतीका दुई छोरा, एक बुहारी र दुई नाति कोरोना संक्रमित रहेको बताइएको छ । स्थानीयवासी राम योङहाङका अनुसार परिवारका अन्य सदस्यको अवस्था भने सामान्य रहेको छ ।

इलाममा बिहीबार थप २२ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै जिल्लामा संक्रमितको संख्या दुई हजार १४४ पुगेको छ । संक्रमितमध्ये एक हजार ७२१ जना निको भइसकेका छन् भने ५२ जनाको यसअघि नै मृत्यु भइसकेको थियो । जिल्लाभर ३७१ संक्रमित उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

१० स्थानीय तह रहेको इलाममा सबैभन्दा बढी इलाम नगरपालिकामा ६७५ संक्रमित छन् भने सबैभन्दा कम फाकफोकथुम गाउँपालिकामा ५५ जना मात्र संक्रमित रहेका छन् । हाल गाउँगाउँमा संक्रमण बढ्दै गएपछि जिल्लावासी त्रसित बन्दै गएका छन् । सवारी सञ्चालन र निषेधाज्ञा खुकुलो भएसँगै आवतजावत वृद्धि भएपछि संक्रमण बढ्न थालेको हो । रासस

 
 
  
 

You may also like