काठमाडौं । नेकपा एमालेको एकता बचाउन पुनः सक्रिय गराइएको कार्यदलका सदस्य गोकर्ण विष्टले विवाद समाधानोन्मुख रहेको दावी गरेका छन् । आज सिंहदरबारमा बसेको कार्यदलको बैठक आजै बेलुका ७ बजे बस्ने गरी स्थगित गरिएपछि बाहिरिने क्रममा उनले यस्तो बताएका हुन् ।
कार्यदलमा नेता माधवकुमार नेपाल पक्षका तर्फबाट सदस्य रहेका विष्टले छलफलमा हिजोभन्दा थप प्रगति भएको बताएका छन् ।
‘हिजोभन्दा थप प्रगति भएको छ । लगभग–लगभग समाधानको विन्दुमा आएका छौं’, उनले भने, ‘आज बेलुका धेरै हदसम्म समाधानमा पुग्ने प्रयास जारी छ ।’
कार्यदलमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका तर्फबाट संयोजक समेत रहेका नेता सुवास नेम्वाङले छलफल सकारात्मक रहेको प्रतिक्रिया दिए । ओली पक्षीय नेताहरु अहिले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आन्तरिक परामर्शमा छन् । हिजो राति प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता विना निष्कर्ष सकिएपछि एकता टुङ्गोमा पुग्ला–नपुग्ला भन्ने राजनीति वृत्तमा चासो बढेको छ ।