चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारी मृत अवस्थामा भेटिएको घटनाले सडक तातिरहेका बेला चितवनबाटै अर्की एक युवती बेपत्ता भएकी छिन् ।
पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–४ की २१ वर्षीया बिना सापकोटा असार १४ गतेदेखि बेपत्ता भएको उनको परिवारले जानकारी दिएको छ । परिवारको उजुरीका आधारमा प्रहरीले खोजीसँगै उनका प्रेमी भनिएका भरतपुर महानगरपालिका–४ का प्रवेश कँडेललाई पक्राउ गरेर अनुसन्धान थालेको छ । तर, अहिलेसम्म बिनाको अवस्था खुल्न नसकेको प्रहरीले जनाएको छ । गैंडाकोटको जनक कलेजमा बीबीएस तेस्रो वर्ष पढ्ने बिना कँडेलसँगै बाइक चढेर घरबाट गएका उनका पिता जयेश्वर सापकोटाले बताए । उनका बुवाले छोरीसँग सोही दिन राति तीन पटक कुरा भएको बताए ।
भरतपुर–४ यज्ञपुरीका युवक कँडेलसँग उनी प्रेम सम्वन्धमा रहेको बिनाको परिवारले पनि स्वीकार गर्दै आएको छ । बिना र प्रवेश दुवैले आफ्नो फेसबुक आइडीमा रिलेसनसिपमा रहेको इन्फो राखेका छन् । उनी बिनाको घरमा आउ–जाउ गर्दथे । नौ महिना जति बेलायत बसेका ती युवक दाजुको बिहेमा सहभागी हुने भन्दै बैशाखमा नेपाल आएका थिए ।
ती युवकको घर नजिककै एक अर्की युवतीसँग पनि नजिक सम्वन्ध रहेको आशंका भएपछि बिनाले नै ती युवतीसँग भेटाउन र कुरा गराउन प्रवेशलाई आग्रह गरेको खुल्न आएको प्रहरीले बताएको छ । उनीहरु ती युवतीको घर नजिकैको चौरमा बसेर कुराकानी गरेको बयान प्रवेशले प्रहरीलाई दिएका छन् । त्यहाँ युवतीको मोबाइल समेत फुटेको भेटिएको गैंडाकोट प्रहरी प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले बताइन् ।
सोही दिन उनीहरुबीच खटपट भएपछि बिना त्यहाँबाट हिंडेकी थिइन् । सोही दिन ती युवकलाई छक्काएर बिना वेपत्ता भएको युवकले बताउँदै आएको प्रहरीले जनाएको छ । प्रवेश र बिनाको बुवाको बीचमा पटक–पटक कुराकानी भएको प्रहरीको भनाइ छ । प्रहरी निरीक्षक खनालले कँडेललाई पक्राउ गरेर चितवन प्रहरीलाई बुझाइएको बताइन् । प्रहरीले प्रवेशसँगै दुई युवा, ती युवती र प्रवेशको परिवारका सदस्यहरूसँग पनि सोधपुछ गरी अनुसन्धान गरिरहेको छ ।
‘केटीको घर मात्रै गैंडाकोट हो, घटना सबै चितवनमा भएकाले चितवन प्रहरीले नै यसको अनुसन्धान गरिरहेको छ’ खनालले भनिन्, ‘हामीले केटीको घरतिर र अन्य आसपासका ठाउँमा खोजी गरिरहेका छौं ।’ जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीले घटनाको छानविन भैरहेको बताए । उनले नवलपुर प्रहरी र चितवन प्रहरीको समन्वयमा नै अनुसन्धानलाई अघि बढाइएको बताए ।