भारतले फाइजरको खोप चाँडै बालबालिकालाई पनि दिने

नयाँदिल्ली। भारतमा फाइजरको कोरोना भाइरसविरुद्धको खोप चाँडै बालबालिकालाई पनि लगाइने भएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले चाँडै बालबालिका समेतलाई फाइजरको खोप लगाउने तयारी भइरहेको जानकारी दिएका हुन् । खोप निर्माण गरेको अमेरिकी औषधि कम्पनीले भारतलाई खोप उपलब्ध गराउने जानकारी दिँदै केजरीवालले त्यो बालबालिकालाई लगाइने बताए ।

अमेरिकी अधिकारीले यो खोप १२ वर्ष वा सोभन्दा माथिका सबैले लगाउन सक्ने र २ देखि ८ डिग्री सेल्सीयसको तापक्रममा एक महिनासम्म भण्डारण गर्न सकिने जनाएका छन् । ‘यो खोप बालबालिकालाई अति उत्तम हुने विश्वास हामीले लिएका छौं,’ मुख्यमन्त्री केजरीवालले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

कोरोना भाइरसको तेस्रो चरणको महामारी शुरु हुनु अगाडि नै बालबालिकालाई खोप लगाइ सक्ने गरी व्यवस्था गर्नेतर्फ सक्रियता देखाउन उनले केन्द्रीय सरकारलाई पनि आग्रह गरेका छन् ।

आगामी महिनादेखि नै बालबालिकामा कोरोना भाइरसको बढी असर देखिन सक्ने अनुमान गरिएको छ । भारतमा महामारीका कारण कक्षा १२ को बोर्ड परीक्षासमेत हुन सकेको छैन । ती विद्यार्थी र शिक्षकलाई पनि प्राथमिकताका साथ खोपको व्यवस्था गर्न मुख्यमन्त्री केजरीवालले केन्द्रीय सरकारलाई सुझाव दिएका छन् । फाइजरले आगामी जुलाइदेखि डिसेम्बरसम्ममा पाँच करोड मात्रा खोप भारतलाई उपलब्ध गराउने जनाएको छ । एजेन्सी

 

 
 
  
 

You may also like