मकालु हिमालबाट सात हजार किलो फोहर संकलन

संखुवासभां। सफा हिमाल अभियानअन्तर्गत संखुवासभाको मकालु हिमालबाट साढे छ हजार किलोग्राम भन्दा बढी फोहर सङ्कलन गरिएको छ । नेपाल सरकारको ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत नेपाली सेनासहितको टोलीले मकालु हिमालबाट छ हजार छ सय सात किलोग्राम फोहर गरेको छ ।

मकालु हिमालको आधार शिविरबाट छ हजार छ सय सात किलोग्राम फोहर सङ्कलन गरेको टोलीमा सहभागी नेपाली सेनाका सेनानी रुपकजङ्ग थापाले जानकारी दिए । फोहर सङ्कलन गर्ने नेपाली सेनाका १० जना र पिक प्रमोसन एजेन्सीका २४ जनाको टोली गएको वैशाख १२ गते मकालु हिमालको आधार शिविर पुगेको उहाँले जानकारी दिए ।

टोलीले गएको जेठ ११ गतेसम्म मकालु हिमालको पहिलो, दोस्रो, तेस्रो, र चौथो क्याम्प फोहर सङ्कलन गरेको थियो। यस्तै सफा हिमाल अभियान अन्तर्गत मकालु, सगरमाथा, ल्होत्से, पुमोरी, धौलागिरि, आमादब्लम हिमालको सरसफाइ गरिएको टोलीले जनाएको छ ।

सगरमाथा र ल्होत्से हिमालको जेठ १५ गतेसम्म फोहर सङ्कलन हुने टोलीले जनाएको छ । संखुवासभाको मकालु गाउँपालिका–२ मा पर्ने मकालु हिमालको उचाइ आठ हजार चार सय ६२ मिटर हो । अभियान टोलीले मकालु हिमालको ७ हजार ४ सय मिटर उचाइसम्मको फोहर सङ्कलन गरेको जनाएको छ ।

‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत फोहर सङ्कलन टोलीले मकालु हिमालबाट चार हजार आठ सय ८२ किलोग्राम नकुहिने फोहर र १७ सय २५ किलोग्राम कुहिने फोहर सङ्कलन गरेको सेनानी थापाले जानकारी दिए । टोलीले सङ्कलन गरेको कुहिने फोहर मकालु गाउँपालिका अध्यक्ष तेजबहादुर पोख्रेललाई हस्तान्तरण गरिएको सेनानी थापाले बताए ।

फोहर सङ्कलन टोलीले मकालु गाउँपालिकालाई कुहिने १७ सय २५ किलोग्राम फोहर बुझाएको छ भने अन्य नकुहिने फोहर काठमाण्डौ लगिएको सेनानी थापाले बताए । सरकारले हिमाल सफाइका लागि नेपाली सेनालाई वातावरण मन्त्रालयबाट १२ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको थियो ।

 

 
 
  
 

You may also like