भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण, ज्यान जोगाउन नर्सले छतबाट हामफाले

नेपालगञ्जल। नेपालगञ्जको भेरी अस्पतालमा कोरोना संक्रमितको मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका छन् ।

बिहीबार दिउँसो दाङका एक पुरुषको मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको वडा प्रहरी कार्यालय नेपालगञ्जले जानकारी दिएको छ । उपचारमा लापरबाही गरेर मृत्यु भएको भन्दै आफन्तले कुटपिट गर्न खोजेपछि स्वास्थ्यकर्मीको भागाभाग भएको थियो ।

अस्पतालमा बाँकेका प्रहरी प्रमुख एसपी ओम रानासहितको टोली र वडा प्रहरी कार्यालय नेपालगञ्जका इञ्चार्ज प्रहरी निरीक्षक दिल्लीबहादुर खड्काको टोली घटनास्थल पुगेको थियो । प्रहरीले १७ जनाको टोली अहिले अस्पतालमा खटाइएको छ । प्रहरीले स्थिति सामान्य बनाएको जनाएको छ ।

सो अस्पतालमै रहेका एक स्वास्थ्यकर्मीका अनुसार आक्रमणकारीहरुले नर्स, डाक्टर लगायतलाई लखेटीलखेटी आक्रमण गरेपछि चार जना नर्सले अस्पतालको एक तलामाथिबाट हाम फालेर ज्यान जोगाएको बताए । उनीहरुलाई सामान्य चोट लागेको छ ।

‘उहाँहरुमा अहिले धेरै ठूलो समस्या देखिएको छैन, खुट्टा मर्किएको छ, अरु सामान्य छ र जेकजाँच हुँदैछ,’ एक स्वास्थ्यकर्मीले भने, ‘तर अस्पतालमा अझै पनि सबै आतंकित रहेको अवस्था छ ।’

 
 
  
 

You may also like