ओलीमा सत्ता कब्जाको मनोवृत्ति : संविधान निगरानी समूह

काठमाडौं । संविधान निगरानी समूहले प्रतिनिधिसभाको दोस्रो विघटनलाई सर्वोच्च अदालतको यसअघिको निर्णय नै निस्तेज पार्ने चालको रुपमा व्याख्या गरेको छ । समूहले महामारीको समयमा सत्ता प्राप्तिका लागि जे पनि गर्ने परिस्थिति देखिएको भन्दै चिन्ता व्यक्त गरेको छ । पूर्व प्रधानन्यायाधीशहरुसहित संविधान र कानुनविद्हरु संलग्न रहेको समूहले यस्तो क्रियाकलापलाई कानुनी राज्यको सिद्धान्त मान्न नसकिने निष्कर्ष निकालेको छ ।

‘दीगो संसद्को संरचनासहित जारी भएको संविधानको कार्यान्वयनले जटिल मोडमा पुगेको बेला विघटित भएका प्रतिनिधिसभा सर्वोच्चबाट पुनःस्थापित भएको सर्वविदितै छ’, समूहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संसदीय प्रणालीको लाभदायक उपयोग गर्नुको उपेक्षा संसद् पुनस्थापना गर्ने न्यायिक निर्णयको औचित्य नै विस्थापित पार्ने गरी रणनीतिक सोच राख्नु कानुनी राज्यको सिद्धान्त मान्न सकिँदैन ।’

गत फागुन ११ गते पुनःस्थापित प्रतिनिधिसभाबाट समाधान खोज्नुपर्नेमा त्यसको भूमिका न्यून बनाउँदै लगिएको भन्दै समूहले आलोचना गरेको छ । संसद् बाहिरबाट अध्यादेशमार्फत काम भइरहेको भन्दै समूहले त्यसको औचित्य सावित गर्न खोज्ने हो भने संसद्को सान्दर्भिकता र औचित्य समेत घट्ने चेतावनी दिएको छ ।

समूहले संविधानअनुसार प्रतिनिधिसभाबाट नै वैकल्पिक सरकारको खोजी गर्नुपर्नेमा त्यसो हुन नसकेको निष्कर्ष निकालेको छ । प्रतिनिधिसभाको अर्थपूर्ण भूमिकाबाट समाधान खोज्नुपर्नेमा अन्योल, अनिश्चयता र अव्यवस्थातर्फ उन्मुख हुने गरी संविधानको धारा ७६ को कार्यान्वयन गर्ने प्रवृत्ति देखिएको समूहको निष्कर्ष छ ।

संविधान कार्यान्वयनकै बेलामा पहिलो निर्वाचनले ओली सरकारलाई अत्यधिक विश्वासको मत दिएको तर विस्तारै बहुमत सिद्ध गर्नसम्म असफल भएको सरकारले वैकल्पिक सरकार गठनमा समेत सहयोग गर्न नगरेको भन्दै समूहले भनेको छ, ‘यस्तो क्रियाकलाप नेपालको लोकतन्त्र र संवैधानिक पद्धतिका लागि शुभ सूचक र शोभायमान कार्य हुन सक्दैन ।’

राज्यका सबै अंगहरुमा रहेकाहरुले संविधान कार्यान्वयनमा निष्ठा र इमान्दारपूर्वक काम गर्नुपर्नेमा त्यसो हुन नसकेको संविधान निगरानी समूहको निष्कर्ष छ । विज्ञप्तिमा भनिएको छ, ‘संवैधानिक पद्धति नै असफलता र निरर्थकतातर्फ उन्मुख छ भन्ने आभास हुने गरी क्रियाकलाप गर्न वा गर्न दिन किमार्थ मिल्दैन ।’ समूहले सबैलाई आत्मसमीक्षासहित मार्गप्रशस्त गर्न आग्रह गर्दै जनताको जीउलाई सस्तो र आफ्नो सत्ता स्वार्थलाई महँगो ठान्ने भ्रमबाट मुक्त हुन पनि आग्रह गरेको छ ।

कोरोना संक्रमका कारण महामारी भएकाले संसद्बाटै समाधान खोज्नुपर्नेमा त्यसो नगरी सत्ता कब्जाको मनोवृत्ति बढेको भन्दै समूहले त्यस्तो काम गलत रहेको निष्कर्ष निकालेको छ । संविधान निगरानी समूहमा पूर्व प्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठसहित सुशीला कार्की एवं आम निर्वाचन पर्यवेक्षक समूहका अध्यक्ष हिमालय शम्शेर जबरा, नेपाल कानुन समाजका अध्यक्ष तीर्थमान शाक्य, संविधानसभाका तत्कालीन सदस्य खिमलाल देवकोटा, संविधानविद्ह डा. विपिन अधिकारी, डा. ऋषिकेश वाग्ले, बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान श्रेष्ठ लगायत छन् ।

 
 
  
 

You may also like